महोत्तरी। भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ । भदौ लागेयता दिनहुँजसो पानी पर्दै आएपछि धानबालीलाई राहत मिलेको किसान बताउँछन् ।
यसपालि रोपाइँका बेला राम्ररी पानी नपर्दा धानको गबो (रोपो) गाँजिन नपाएका बेला भदौ लागेयता भने दिनहुँको वर्षाले राहत मिलेको छ । “घरमा भएको अन्नपात सबै लगाएर दुःखले धान रोपियो, तर साउनभरि राम्ररी पानी नपरी बित्दा बाली सप्रने आस मरेको थियो” भङ्गाहा–४ रामनगरका ५० वर्षीय किसान शुभनारायण ठाकुर भन्नुहुन्छ, “भदौ लागेयता भने दिनहुँ पानी पर्दै आएपछि रोपो फेरिएर हलक्क बढेको छ ।” अबका एक महिना अनुकूल वर्षा भइरहे धान घर भित्रिने आस पलाएको ठाकुरको भनाइ छ ।
ठाकुरजस्तै भङ्गाहा–३ कटैयाकी ६० वर्षीया किसान रामराजी यादव पछिल्लो वर्षाले धानबाली निकै फिरेको बताउनुहुन्छ । “असार साउनमा पानी राम्रो परेन, इनार र बोरिङबाट पानी तानेर कसैगरी धान रोप्यौँ, साउनभरि पानी नपर्दा अब विचल्ली हुने भयो भन्ने परेको थियो”, यादव भन्नुहुन्छ, “पछिल्लो एक साताको दिनहुँको वर्षाले राम्ररी सास फेर्नसक्ने बनायो ।” अहिले धानको रुखी (बोटको अवस्था) फेरिएर लहलहाएको देख्दा सन्तोष लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
महोत्तरी यसपालि रोपाइँका बेला अनुकूल वर्षा हुन सकेन । यो प्रतिकूलताबीच पनि यहाँ धान रोपाइँ राम्रो भएको छ । यसपालि साउन मसान्तसम्ममा करिब ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । कतिपय ठाउँमा स्थानीय जातका धानको खरुअन (कलम, बीउ रोप गााजिएपछि उखेलेर फेरि रोपिने धान) भदौ पहिलो साता बित्दै गर्दासम्म रोपाइँ भइरहेको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ ।
यो हिसाबले भदौ १० भित्र खरुअन रोप जारी रहे रोपाइँ ९० प्रतिशतको हाराहारी पुग्ने उहाँको भनाइ छ । जिल्लामा कूल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ४० हजार हेक्टरमा धान खेती हुँदै आएको छ । धानखेती हुने यो क्षेत्रफलमध्ये साउन मसान्तभित्र ३४ हजार ८०० हेक्टरको सेरोफेरोमा रोपाइँ भएको कार्यालयले जनाएको छ ।
जिल्लामा १० प्रतिशत जग्गामा मात्र कुलोनहर लाग्ने स्थायी सीञ्चित जग्गा छ । यसबाहेक २० हजार हेक्टरमा वैकल्पिक सिँचाइ (भूमिगत सिँचाइ, इनार र बोरिङबाट मोटर र पम्पसेट लगाएर पानी तानिने) को पहुँच पुगेको कार्यालयका विज्ञ बताउँछन् । तर इनार र बोरिङको पानी बढी खर्चिलो हुँदा आम गरिब किसान आवश्यकताअनुसार यस्तो पानी खेतबारीमा पुर्याउन सक्दैनन् । त्यसैले अधिकांश खेती आकाशे पानीको भरमा छ ।











