१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : पाकिस्तानको विश्वकप यात्रा समाप्त, इङल्यान्डसँग ९३ रनले पराजित



जस बटलर र बाबर आजम
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गतको अन्तिम खेलमा इङल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । यो पराजयसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने झिनो आशा समाप्त भएको छ ।

यद्यपी पाकिस्तानले ६.४ ओभरमै इङल्यान्डले दिएको लक्ष्य पूरा गर्नुपर्ने थियो, जुन असम्भव थियो ।

यसअघि कोलकाताको इडेन गार्डेनमा टस जितेर इङल्यान्डले पहिले ब्याटिङ गरेको थियो । इङल्यान्डले ९ विकेट गुमाएर ३३७ रनको विशाल स्कोर खडा गरेको थियो ।

इङल्यान्डका लागि बेन स्टोक्सले ८४, जो रुटले ६०, जोनी बेयरस्टोले ५९ रनको महत्वपूर्ण पारि खेलेका थिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २, ह्यारिस रउफले ३, इफ्तिखर अहमदले १ तथा मोहम्मद वासिले २ विकेट लिएका थिए ।

जितका लागि ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुँदै २४४ रन मात्र बनाएको थियो । पाकिस्तानका लागि आघा सल्मानले सर्वाधिक ५१ रन बनाएका थिए । प्रारम्भिक ब्याट्सम्यान अब्दुल्ला शफिकलाई ० र फखर जमानलाई १ रनमा गुमाएको पाकिस्तान त्यसपछि दबाबमा परेको थियो ।

कप्तान बाबर आजमले ३८, मोहम्मद रिज्वानले ३६ र शाउद सकिलले २९ रनको योगदान दिएका थिए ।

इङल्यान्डका लागि आदिल रसिद, गस अट्किन्सन र मोइन अलिले समान दुईदुई विकेट लिएका थिए भने डेभिड विलीले ३ र क्रिस वोक्सले १ विकेट लिए ।

यो जितसँगै इङल्यान्डले ९ खेलबाट ३ जितसँगै सातौं स्थानमा रह्यो भने पाकिस्तान पाँचौं स्थानमा सीमित भयो ।

विश्वकप क्रिकेट अन्तर्गत अब शीर्ष स्थानको भारत र अन्तिम स्थानमा रहेको नेदरल्यान्ड्सबीच एक खेल हुन बाँकी छ ।

यसपछि सेमिफाइनलका खेलहरु हुनेछन् । जसमा भारत र न्युजील्यान्ड तथा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुनेछन् ।