• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

के राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गर्लान् ?



फाईल फोटो

काठमाडौँ । मुलुक यतिबेला राष्ट्रिय बिपत्तीमा परेको छ । जाजरकोट भूकम्पमा परी कम्तीमा पनि १५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै गत शनिबारको सो भूकम्पबाट भएको क्षतिको यकिन अझै हुन सकिरहेको छैन । उद्धारकर्ताहरुले पहिलो चरणको उद्धारको काम सकिएको बताए पनि अझै जाजरकोट र रुकुम पश्चिमका गाउँ गाउँमा भूकम्पले भत्किएका घरहरुको उत्खनन जारी नै छ । अहिले नै यकिन हुन नसकेको भए पनि अझै पनि कतिपय मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

आजदेखि फेरि पीडितले राहात पाउन नसकेका समाचार आएका छन् । पीडितहरु कात्तिकको जाडोमा टेन्टमुनि रात काट्न बाध्य छन् र अझै कतै कतै त टेन्ट पनि पुग्न सकेको छैन । सरकारी उद्धारकर्मीहरुले त्यहाँ पुगेर उद्धार र राहातको काम अघि बढाएका छन् । पराकम्पनहरु आइ नै रहेका छन् र ती पराकम्पनसँगै यहाँका नागरिकको मुटु हल्लिइनै रहेको छ ।

दुईजिल्ला अहिले पीडित भएको भएपनि सिंगो कर्णालीमा नै त्रास छाएको छ । किनभने नेपालमा मूल भूकम्पपछि पनि अर्को भूकम्प या पराकम्पनले ठूलो क्षति पुर्याएको इतिहास छ । यता भूकम्पका विषयमा जानकारहरु पनि पश्चिममा अझै ठूलो भूकम्प आउने बताइरहेका छन् ।

देशले यतिविघ्न विपत्तिको सामना गरिरहेको बेलामा उता राष्ट्रपति कार्यालयले भने राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणको तयारी गर्दै छ । राष्ट्रपतिको युरोप भ्रमणको स्वीकृति नेपाल सरकारले विपत्ति आउनु अघि नै स्वीकृत गरेको भए पनि अहिले देशमा भूकम्पपछिको विपत्तिका बारेमा भने सरकार केही बोलेको छैन ।

यस्तो अवस्थामा राष्ट्रपति विदेश म्रभणमा निस्कनु अत्यन्तै अमिल्दो काम हो । यो अशोभनीय नै देखिने भएकाले राष्ट्रपतिले आफ्नो भ्रमणको विषयमा पुनर्विचार गर्ने अनुमान गरिएको छ । यदि यस्तो अवस्थामा पनि उहाँ विदेश भ्रमणको लामो यात्रामा निस्किने हो भने यसबाट मुख्यतः मानवीय संवेदनशीलतालाई राष्ट्रपति संस्थाले बेवास्ता गरेको अर्थ लाग्छ ।

यता आफ्नो घर शोकाकूल रहेको छ । यस्तो बेलामा घरमूली विदेश भ्रमणमा जाँदा विदेशीले र उहाँका आफ्ना समकक्षीले सोध्ने पहिलो खबर पनि यही शोककै हो । या बोल्ने क्रममा पनि उहाँलाई सबैले यही शोकको सन्देशबाट नै आफेना मन्तव्य सुरु गर्न सक्छन् । कूटनीतिक क्षेत्रमा यो अझै अर्को अशोभनीय हुन जाला । यसरी घर र परिवार शोकमा रहेका बेला घरको मूली नै विदेश सयरमा निस्कनु अरुको नजरमा समेत नैतिक काम नठहरिन सक्छ ।

नेपाल सरकारकी प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्म युरोपका तीन देशको भ्रमण गर्ने कार्यसूची रहेको जानकारी दिइन् ।

त्यसमा फ्रान्समा ‘पेरिस पिस फोरम’ मा भाग लिने र त्यसपछि जर्मनी र इटलीको भ्रमण गर्ने कार्यतालिका रहेको छ । तर यो कार्यतालिका र भ्रमणमा नै राष्ट्रपतिले पुनर्विचार गर्नुपर्नेमा उहाँको सल्लाहकार समूहका सदस्यहरुले पनि सुझाव दिएका छन् ।

हालै नेपाल सरकारको सिफारिशमा रिगल भनिने अदालतले नै सजायँ दिएका एक अपराधीलाई माफी मिनाहा गर्दा आलोचित बन्नुभएका राष्ट्रपतिले नागरिकको सान्त्वना र सद्भाव लिनका लागि पनि यो भ्रमण स्थगित गर्नुपर्ने उनीहरुको सुझाव छ ।