• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु



लुम्बिनी । नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर–पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटका यात्रुबाहक सवारीसाधन अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहिया र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा मङ्गलबारदेखि अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारीसाधन हटाउन सुरु गरिएको वडाध्यक्ष पोखरेलले बतानुभयो । “जथाभावी पार्किङ गरी सवारीसाधनमा यात्रु भर्ने काम भइरहेकाले सवारीसाधनको जाम लाग्दा दुर्घटना हुने सम्भावना भएको नागरिकको गुनासो रहेकोले भारतीय नम्बर प्लेटका सवारी साधनलाई हटाउन अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियालाई पत्र पठाइएको र हिजोदेखि हटाउने काम सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियाका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज सेनले भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित पार्किङका कारण दुर्घटना हुने सम्भावना बढेको वडा कार्यालय र स्थानीयवासीबाट गुनासो आएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको बताउनुभयो । सीमा नाकामा दैनिक कम्तीमा सात–आठवटा भारतीय सवारीसाधन अव्यवस्थित रुपमा पार्किङ गरेर यात्रुहरु बोक्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएपछि हटाउन सुरु गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसअघि पनि अनावश्यक रुपमा पार्किङ नगर्न भारतीय सवारीसाधन ९ट्याक्सी०लाई सम्झाइबुझाई गरिएको थियो । तर, अटेर गरेपछि हटाउन सुरु गरिएको छ ।” उहाँले यो कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिका–१ का स्थानीय प्रशान्त थापा क्षेत्रीले अनावश्यक रुपमा पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधनका कारण नेपाली सवारीसाधन मर्कामा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार सुविधा गराउने र यात्रु नपाउञ्जेलसम्म अव्यवस्थित रुपमा पार्किङ गरेर सवारीसाधन राखिँदा ट्राफिक व्यवस्थापनमासमेत समस्या थपिएको छ । यसतर्फ नगरपालिका, वडा कार्यालय र ट्राफिक प्रहरीले ध्यान दिनु सराहनीय कार्य हो ।” रासस