• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo

तीन दशकदेखि क्यान्सर रोकथाममा खटिएका सिद्धि आफैं क्यान्सरबाटै थलिए…



ललितपुर । रोटरीको माध्यमबाट नेपाललाई जापानभरि चिनाउने एकमात्र व्यक्ति पुल्चोक, ललितपुरका ७८ वर्षे समाजसेवी सिद्धि बहादुर शाक्य हुन् । त्यसैले उनलाई जापानको लागि नेपाली ‘रोटरी सद्भावनादूत’ हुन् भन्दा पनि फरक पर्दैन ।

नेपालका विभिन्न क्यान्सर अस्पताल, स्वास्थ्य चौकी र सामाजिक संघसंस्थाहरुलाई एम्बुलेन्सदेखि स्वास्थ्य उपकरणको साथै अन्य भौतिक र आर्थिक सहयोग जुटाईदिने तिनै सिद्धि बहादुर अहिले आफैं फोक्सोको क्यान्सर भएर एकवर्षदेखि थला परेका छन् ।

शाक्यले रोटरी क्लव मार्फत जापानबाट भक्तपुर क्यान्सर अस्पतालदेखि तनहुँ, चितवन लगायत मोफसलका अन्य क्यान्सर अस्पतालहरुमा उपकरण जुटाउनेदेखि क्यान्सरबारे चेतना जगाउने र रोकथामदेखि क्यान्सरको सरल उपचारमा सहयोग गर्दै आएका थिए । उनले ललितपुरको रोटरी क्लव अफ पाटन वेष्टको अध्यक्ष लगायत अरु पदमा बसेर पनि काम गरिसकेका छन् ।

तीन दशक अर्थात सन् १९९२ देखि उनीे रोटरी इन्टरनेशनल (त्यतिखेर डिस्ट्रिक्ट ३२९२ नेपाल, भारत र भुटानको संयुक्त ) हाल डिस्ट्रिक्ट ३२९० को विभिन्न महत्वपूर्ण पदमा बसेर नेपालको शिक्षा, स्वास्थ्य र समाजसेवामा सकृय रहँदै आएका छन् । कोभिड महामारीताका पनि उनले धेरै जनालाई सहयोग गरेका थिए ।

आफु आवद्ध रहेको रोटरी क्लव अफ पाटन वेष्टको अध्यक्ष र अन्य पदमा छँदा उनले जापानबाट ललितपुर टिकाथलीको चांगाथली क्लव ,भक्तपुरको श्रमजीवि महिला तथा वाल कल्याण परिषद, तनहुँको बन्दीपुर अस्पताल र जाउलाखेलको नेशनल क्यान्सर अस्पताललाई एक/एकवटा एम्वुलेन्स सहयोग जुटाईदिएका थिए ।

यसका साथै जापानबाटै उनले ललितपुरको नेशनल क्यान्सर अस्पताललाई र ललितपुर महानगरपालिका वडा नं १४ तिखिदेवलको स्वास्थ्य केन्द्रलाई स्तन क्यान्सर परीक्षण गर्ने उपकरण सहितको मोवाइल भ्यानसमेत जुटाईदिएका थिए ।

जापानको ७० भन्दा बढी शहरमा रहेका रोटरी क्लवहरुसंग समन्वय गरि उनीहरुबाट नेपालको ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स, स्वास्थ्य उपकरणहरुको साथै विभिन्न सामुदायीक विद्यालयमा कम्प्युटर लगायत शैक्षिक सामाग्री र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत जुटाउँदै आएका थिए शाक्यले ।

उनले रोटरी क्लवको वैठकको सिलसिला र आफ्नो व्यापार व्यवसायको सिलसिलामा एकसय भन्दा बढी पटक जापान भ्रमण गरिसकेका छन् । उनी उमेरमा जापानमा हस्तकला व्यवसाय गर्थे । जापानमा अहिले उनको व्यवसाय उनका दुई छोराहरु विकेन र सविनले सम्हाल्दै आएका छन् ।

त्यसो त शाक्यलाई नेपालको रोटरीको क्षेत्रमा अन्तराष्ट्रिय रोटरी क्लवहरुको झण्डा (रोटरी क्लव ब्यानर) को भण्डार नै मानिन्छ । उनीसंग विश्वका एकसयभन्दा बढी देशका रोटरी क्लवका क्लव झण्डा संकलन छ ।

उनले जापान १०० भन्दा बढी पटकको साथै अमेरिका, अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड, मलेसिया लगायतका अन्य दर्जन मुलुकका रोटरी क्लवका विभिन्न सभा सम्मेलनमा पटक पटक भाग लिईसकेका छन् ।

७० वर्षको जन्मदिन मनाएर ध्रुमपान गर्न छोडेका शाक्यलाई ध्रुमपान छोडेको ७ वर्षपछि फोक्सोको क्यान्सर देखिएको शाक्यका मित्र एवम् वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा.मदनकुमार पिया बताउँछन् ।

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा रेडियोथेरापि उपचार सकेर घरमै आराम गरिरहेका उनी आफुले अझैं नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।

औषधिमुलोको साथै पोषणयुक्त खानेकुराले क्यान्सरलाई जित्न सकिन्छ भन्ने आत्मविश्वास बोकेका शाक्यलाई अहिले आफ्नै घरमा ७७ वर्षिया धर्मपत्नि चैत्रलक्ष्मी शाक्य, कान्छी छोरी रीमा शाक्य र नातिले रेखदेख गर्दै आएका छन् ।

त्यसो त सिद्धि बहादुर थला पर्दा जापानमा रहेका उनका दुवै छोराहरु बिकेन र सविन काठमाण्डौमा आएर उनलाई उपचारको लागि नयाँदिल्ली पनि पुर्याएका थिए । शाक्यका २ छोरा र ४ छोरी छन् ।

नेपाल जुडो संघमा ११ वर्ष उपाध्यक्ष र ४ वर्ष सल्लाहकार समेत रहिसकेका शाक्य जुडोका खेलाडीलाई अन्तराष्ट्रिय प्रतियेगितामा भाग लिन जाँदा आफ्नोतर्फबाट पाकेट खर्च समेत दिएर पठाउँथे ।