२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का



अ+ अ-

रामपुर (ओखलढुङ्गा) ।  बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहनुभएको थियो ।

“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा १”, घिमिरेले भन्नुभयो, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो ।

अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी हुनुभयो । आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए ।

सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताउनुभयो । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उहाँको भनाइ छ ।

न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिनुहुन्छ । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उहाँले भन्नुभयो ।

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाउनुभयो । उहाँले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताउनुभयो ।

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राख्नुभयो । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उहाँले भन्नुभयो ।

तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाउनुभयो । “बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उहाँले भन्नुभयो । नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाउनुभयो ।

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ ।

शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ । रासस