२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

बागलुङ नगरपालिकाका मुकाममै साँघुरा सडक

बागलुङ नगरपालिकाका मुकाममै साँघुरा सडक
अ अ+ अ-

बलेवा । सदरमुकाम बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेसम्मको सडक ट्र्याक खुलेको २४ वर्षसम्म पनि चाक्लो बनाइएको छैन । बागलुङ नगरपालिका–३ को खहरेमा साँघुरो रहेको सडक चाक्लो बनाउन थालेको झण्डै एक वर्ष भयो तर काम झनभन्दा झन् सुस्त छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डमापर्ने यो सडक मध्यपहाडी लोकमार्गले नै काम गर्नुपर्ने सडक खण्ड हो । बागलुङकै घोडाबाँधे बुर्तिवाङ खण्ड र बुर्तिवाङ पातिहाल्ने खण्डमा सडक फराकिलो बनाएर काम भइरहेको छ । यो सडक कालोपत्र भएर चिल्लो छ । छिमेकी जिल्ला पर्वतमा भइरहेको कामले बागलुङको साँघुरो खण्डलाई गिज्याइरहेको छ ।

पहरो काट्ने काम चलिरहेको छ । त्यही पहरो बहाना बनाएर निर्माण व्यवसायीले समयमा काम नसकेका कारण बागलुङ–घोडाबाँधे खण्डको २७ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । बिहुँ खण्डमा पनि विभिन्न ठाउँमा सडक साँघुरो छ । ‘साँघुरो भएको ठाउँमा सडक चाक्लो बनाउन काटेको माटो फाल्ने ठाउँ भएन भनेर निर्माण व्यवसायीले कामनै गर्न छोडे’ बिहुँका स्थानीयवासी रुद्रप्रसाद कँडेलले भन्नुभयो,‘‘सवारीको चाप, धुलो र हिलोले हामीलाई सधैँको सास्ती ।’’

कालीगण्डकी करिडोरको बागलुङ खण्डका पनि अनेकौँ किस्सा छन् । नेपाली सेनाले ट्र्याक खोलेको करिडोरको बागलुङमा पर्ने २८ किलोमिटर खण्डमध्ये मालढुङ्गा–बलेवा विमानस्थल खण्ड चाक्लो बनाउने काम पनि नेपाली सेनाले गर्‍यो । दश किलोमिटर उक्त खण्ड दश मिटर चाक्लो बनाएर सडक विभागलाई हस्तान्त्रण गरेको दुई वर्ष वितिसक्दा यो सडक पहिलेकै अवस्थामा फर्किएको छ । ठाउँठाउँमा सडकमाथि र सडकको तलबाट गइरहेका पहिरोका कारण सडक साँघुरिँदै छ । 

बलेवा विमानस्थल–पालुङखोला खण्डको १८ किलोमिटर सडक सेनालेनै फराकिलो बनाउने काम गरिरहेको छ । साँघुरो कोरिडोरमा सवारीको चाप उत्तिकै छ । दुर्घटनाको भय राखेरै भए पनि सवारी चलाउनुपर्ने बाध्यता रहेको सवारी चालक राजु शर्माले बताउनुभयो ।

बागलुङमापर्ने राष्ट्रिय गौरवका आयोजना मात्रै होइन यहाँका स्थानीय सडकको दुरदशा अझै भयावह छ । सङ्घीयताको कार्यान्वयनसँगै बनेका स्थानीय तहका मुकामका सडक साँघुरा भएका कारण मुकामका बजारले गिज्याइरहेको देखिन्छ । ‘‘मुकामका बजारवासी भन्छन्, “तीनै बजारमा साना गाडी छिर्दैनन’’ जैमिनी नगरपालिकाको मुकामका एक स्थानीयवासी भन्छन्, ‘‘अन्यत्र हेर्दा कस्ता राम्रा काम भएका छन् तर हाम्रो त मुकामकै हालत यस्तो छ, सडक राम्रो छैन ।’’

सडक चौँडा पार्ने योजना अलपत्र

बागलुङ नगरपालिका १ र २ मा सडक चौँडापार्ने कार्यक्रम अलपत्र परेको छ । दुई वर्षअघि नगरपालिकाले पत्राचार गरेर मापदण्डविपरीतका घरटहरा भत्काउन पत्राचार गरे पनि नगरपालिका आफैँ पछि हटेको हो । सडक बनाउने क्रममै मापदण्डमा परेका घरटहरा भत्काउन नगरपालिकाले दुई पटक सूचना प्रकाशित गरेको थियो ।

 पोखरा बागलुङ राजमार्गको जिरो किमी रहेको बागलुङको ट्राफिक चोकदेखि मालढुङ्गासम्म दुई दर्जन घर मापदण्डभित्र परेका छन् । आर्थिक वर्ष २०५०-५१ मा सडक ट्र्याक खुल्दा यहाँ १५ मिटर मापदण्ड कायम थियो । मध्यपहाडी लोकमार्गले यो मापदण्ड २५ मिटर पुर्‍याएको छ । तर सडक दिनदिनै साँघुरो बन्दै गएकोले जाम हुन थालेपछि नगरले गरेको चासो कार्यान्वयन गर्न नसकेर आफै फिर्ता भएको हो । वडा नं १ र २ मा यस्ता घर रहेकोले ती वडामार्फत् सूचना जारी गरिएको थियो । वडा नं २ का अध्यक्ष जीवन आचार्यले सबैको संयुक्त पहलबिना काम गर्न नसकिने भएपछि हटेको बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग कायम भएको वडा नं १ मा थप दुई दर्जन घर भत्काउनुपर्ने छ । लोकमार्गको ट्र्याक अहिले ८ मिटर पनि छैन । राष्ट्रिय मापदण्डले यो सडकलाई कम्तीमा २५ मिटर भनेको छ । मध्यपहाडी लोकमार्ग हाल बागलुङ नगरपालिका– १ को बाँगेचौरदेखि वडा नं ४ को उपल्लाचौरतर्फ जाने तय भएको छ । 

ट्राफिक चोकसम्मको पुरानो खण्ड र लोकमार्गको ट्र्याकमा फराकिलो बनाउने काम शुरु भएको छैन । सडक साँघुरो हुँदा यहाँ दैनिक जाम पर्छ । चौडा सडकका लागि साथ दिनुपर्नेमा स्थानीयवासीले असहयोग गरेपछि नगर पनि पछि हटेको हो । सडक डिभिजनले हेर्ने भाग र नगरपालिकाले हेर्ने भागमा खाल्डापुर्ने काम भएको छैन । पटकपटक काम गरेझै देखाए पनि पूरा नभएको हो । केही दिनअघि ट्राफिक चोकमा गिटी हालेर छाडेपछि खाल्डा टालिएको छैन । खानेपानीको पाइपलाइन पुर्ने बेलामा खनिएको कालोपत्र पनि पुरेर मात्रै छाडिएपछि बजारमा दिनभरी धुलो उड्ने गरेको छ । 

‘‘पानी आए हिलो, घाम लाग्दा धुलो खानुपर्ने बाध्यता छ,’’ स्थानीयवासी हरि शर्माले भन्नुभयो, ‘‘बजारवासीको स्वास्थ्यमा कसले ध्यान दिने हो जिम्मेवार कोही भएनन् ।’’ विकास निर्माणका निकायबीच समन्वय अभावले समस्या भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । समन्वय गर्न खोज्दा पनि सबैले आफ्नो स्वार्थको कुरा मात्रै गर्ने काम भएको उहाँले टिप्पणी गर्नुभयो ।

सडक चौडा पार्न नमिल्ने गरी छेवैमा घर

पालिकाले ध्यान नदिँदा रणनीतिक सडकहरु साँघुरा बनेका छन् । सडक छेबैमा घर बनाउने क्रम पनि बढेको छ । यसरी बनाएका घरले सडक चौडा पार्ने काममा समेत समस्या पर्ने देखिएको छ । राष्ट्रिय राजमार्गदेखि दुई जिल्ला जोड्ने रणनीतिक सडकमा पनि मापदण्ड पालना नभएको हो ।

नेपाल सरकारले २०७२ सालमा ल्याएको बस्ती विकास मापदण्डले तोकेका सूचना पनि पालना नभएका हुन् । भूकम्पप्रतिरोधी घर निर्माणका लागि मात्र नभइ यो मापदण्डले सडकहरु चौँडा पार्ने, सेटव्याक राख्नेलगायतका धेरै प्रावधान राखेकोमा पालना गर्न कठिन भएको जनप्रतिनिधिले गुनासो गरे । मापदण्डअनुसार चार तलामाथिको घर बनाउनु परेमा नगरपालिकास्तरबाट नक्शापास गराउने चलन छ । अग्ला घर बनाउनु परेमा माटो परीक्षण गर्ने र भूकम्पप्रतिरोधी अन्य प्रावधान पूरा गर्नुपर्छ । त्यस्ता घरले सडकका लागि पनि ठाउँ छाड्नुपर्ने प्रावधान छ ।
 
कम्तीमा डेढ मिटरसम्म सेडव्याक राख्ने, कम्तीमा १२ इन्च चौडाको पिलर ठड्याउनुपर्ने र पिलरभन्दा बाहिर पर्खाल निकाल्न नपाउने प्रावधान पालना नभएका हुन् । तीव्र रुपमा शहरी विकास भइरहेको सदरमुकामसहित गलकोट र बुर्तिवाङ बजारमा मापदण्ड उल्लङ्घन बढी देखिएको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । सम्बन्धित नगरपालिकाले चासो बढाउन नसकेको उहाँले टिप्पणी छ ।

मापदण्डले मूलसडककोभित्र ५० मिटरसम्म घर बनाउनु पर्दा चार मिटरको सडक हुनुपर्ने तोकिएको छ । बागलुङका अधिकांश गल्लीमा मोटरसाइकल लैजान पनि नमिल्ने छन् । गलकोटमा अहिले यस्ता घर निर्माणमा चासो कम देखिएको हो । जैमिनी नगरपालिकाले मापदण्ड लागू गर्न तयारी गरेको नगरप्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो । ‘‘हामीले कार्यविधि बनाएर लागू गर्दैछौँ, अग्ला र ठूला घर बनाउन खोज्नेलाई मापदण्डबारे जानकारी दिने गरिन्छ’’ इञ्जिनीयर विवेक सापकोटाले भन्नुभयोे, ‘‘नगरपालिका भए पनि ग्रामीणबस्ती धेरै भएकोले मापदण्ड पूर्ण कार्यान्वयन भने गाह्रो छ ।’’ मुकाम रहेको स्थान र कालीगण्डकी करिडोर छेउमा मात्रै मापदण्ड निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।
 
ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अग्ला घर बन्ने होड चलेको छ । नगरप्रमुख देवकुमार नेपालीकै घर साढे सात तलाको छ । ‘‘मापदण्ड लागू गर्न खोजे पनि सानो क्षेत्रमा गाह्रो छ’’ नेपालीले भन्नुभयोे, ‘‘सानो घडेरीमा अग्ला घर बनाउनै पर्ने बाध्यता छ ।’’ बरु भूकम्पप्रतिरोधी घर बनाउन आग्रह गर्ने उहाँले बताउनुभयो । घरको क्षेत्रफल एक हजार वर्गफिटभन्दा धेरै भएमा माटो परीक्षण, ‘स्ट्रक्चरल एनालाइसिस’लगायतको काम गर्नुपर्ने प्रावधान पूरा नभएको हो ।
 
‘‘नक्शापास गर्ने बेलामा सानो देखाएर पछि ठूलो घर बनाउने धेरै छन्’’ बागलुङ नगरपालिकाका एक इञ्जिनीयरले भन्नुभयो, ‘‘माथिल्लो तहको अनुमतिबाट उम्कनका लागि त्यो रणनीति गरेको देखिन्छ ।’’ नगरपालिकाले ठूलो स्टक्चरको भवन बनाउनुपरेमा भवन डिभिजन कार्यालयमा नक्शा पठाउने गरेको छ । मापदण्ड मिचेका घरलाई रु एक लाखदेखि ५ लाखसम्म जरिवाना लिएर पास गराउन थालेपछि मापदण्ड मिच्न खोज्ने धेरै भेटिएको हो ।
 
मापदण्ड लागू गर्न नसकेको अवस्थाका घरमा मात्रै जरिवाना लगाएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । सदरमुकाममा भने वर्षौंदेखिका कुलो र नालीमाथि पनि मापदण्ड मिचेर घर बनिरहेका छन् । बागलुङ नगरपालिकामा १५० भन्दा बढी मापदण्ड मिचेका घर भेटिएको वडा नं २ का अध्यक्ष जीवन आचार्यले बताउनुभयो ।

साँघुरो शेरा बजार

साँघुरो बजार, भिरालो भूभाग भएकाले गुजुमुक्क पारेर बनाइएका घर । लामो समयदेखि त्यही साँघुरो बजारबाट जिल्लाको दक्षिण क्षेत्रको व्यापार व्यवसाय चल्यो । बागलुङको दक्षिण व्यापारिक केन्द्र हो कुश्मीसेरा बजार । तत्कालीन गाविस हुँदा चारवटा गाविसको सङ्गममा पथ्र्यो कुश्मीसेरा । राज्य पुनसंरचनासँगै बनेको जैमिनी नगरपालिकाको केन्द्र पनि त्यहीँ तोकियो । १० नं वडाको नगरको मुकाम बनेको शेरा बजार सुधार योजना नगरपालिकाले बनायो ।
 
व्यापारिक र प्रशासनिक कामसमेत सोही बजारबाट हुने भएपछि सुधार आवश्यक थियो । पहिलो वर्ष नै बजार क्षेत्रको सडक सुधार योजना नगरले ल्यायो । ‘‘सडक नालीबाट हामीले सुधार थालेका हौँ,’’ नगर प्रमुख ईन्द्रराज पौडेल भन्नुहुन्छ, ‘‘बजार फराकिलो बनाउने अभियान जारी छ ।’’ एक वर्षमै सक्ने गरी थालिएको काम तीन वर्षसम्म पनि सकिएको छैन । साँघुरो बजारलाई फराकिलो र सुन्दर बनाउने काममा आफैँले बनाएको नीतिगत व्यवस्था कडाइका साथ कार्यान्वयन नगर्दा सुधारको काम प्रभावित भएको छ ।

दुई भागमा बाँडिएको शेराको उपल्लो बजारमा रहेका घरको व्यवस्थापन गर्न नगरपालिकाले नसकेको हो । ‘‘बजारवासी आफैँले घर सारेर फराकिलो बनाउँछौँ भनेका छन् । काम पनि चलिरहेको छ,’’ पौडेल भन्नुहुन्छ, ‘‘सैनिक टोल र उपल्लो बजार फराकिलो बन्दा मुकाम सुन्दर हुनेछ ।’’ 

जैमिनी नगरपालिकाले दुई वर्षअघि सडकको मापदण्ड बनाएको छ । मुख्य सडक १८ मिटर, वडास्तरीय सडक १४ मिटर र शाखा सडक आठ मिटर चौडाइ बनाउने मापदण्डमा उल्लेख छ तर पालिकाको मुकाममा रहेको सडकको भने चार मिटर चौडाइसमेत छैन । त्यही मापदण्ड लागू गर्न नसकेका कारण बजार विस्तारको काम रोकिएको हो ।‘‘गरेनन् भनौँ जनप्रतिनिधि आएपछि छिस्ती र उपल्लो दमेक जस्ता ठाउँमा सडक पुग्यो, गरे भनौँ भने काम गर्ने तौरतरिका मिलेन,’’ कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर श्रीषले भन्नुभयो, ‘‘घर फालेर सडक बनाउने काममा यतिका समय अल्झिनुहुँदैन, सरकार भनेको त विधि बनाएर लागू गर्ने निकाय हो ।’’ 

अहिले पनि कुश्मीशेरा बजार एकै ठाउँ जोडिएका घरले भरिएको छ । सडकको मापदण्ड कायम गर्ने र बजारलाई फराकिलो बनाउने काम नगरले थाले पनि बेलाबेला बजारवासीले गर्ने विरोधका कारण काम अल्झिने गरेको नगरप्रमुख पौडेल बताउनुहुन्छ । बजारवासी आफैँले भत्काउने भनेका घर समयमा नभत्काउँदा समस्या भएको हो । कहिले बजारको बीचबाट मुख्य सडक बनाउने त कहिले शाखा सडक मात्र बनाउने बजारवासीको मागका कारण काम रोकिएको इञ्जिनीयर रामकृष्ण पौडेलले जानकारी दिनुभयो ।

साघुँरा सडकका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सदरमुकामबाट स्थानीय तहमा जोडिएका सडकमा पनि सवारीको चाप उच्च रहेकाले साँघुरा सडकले सधैँ समस्या पर्ने गरेको छ । ‘‘मान्छेको जाम हुने सडक छन्, साना सवारी पनि छिर्दैनन्’’ सवारी चालक सरोज पाठक भन्नुहुनछ,‘‘सडककै कारण छिनछिनमै दुर्घटनामा परिएला भन्ने त्रास सधैँ हुने गर्दछ ।’’ रासस