• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

अस्ट्रेलियाको पुनरागमन जित, भारत ६६ रनले पराजित



अस्ट्रेलिया र भारतबीचको तेस्रो एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको छ । लगातार पाँच एकदिवसीय खेल हारेको अस्ट्रेलियाले आज राजकोटमा भएको दिवारात्रि खेलमा भारतलाई हराएको हो ।

अस्ट्रलियाले प्रस्तुत गरेको ३५३ रनको विशाल लक्ष पछ्याएको भारतले सबै विकेट गुमाएर २८६ रन मान बनाएको थियो । अघिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका शुभमन गिललाई विश्राम दिएको भारतका लागि कप्तान रोहित शर्माले पालिको सुरुआत गरेका थिए ।

कप्तान शर्माले ग्लेन म्याक्सवेलको बलमा आउट हुनुअघि ८१ रनको महत्वपूर्ण पालि खेलेका थिए । अन्य ब्याट्सम्यानहरुमा वासिङटन सुन्दरले १८, बिराट कोहलीले ५६, श्रेयस ऐयरले ४८, रबिन्द्र जडेजा ३५, केएल राहुलले २६ रनको योगदान गरेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि माथिल्लो क्रमका सबै ब्याट्सम्यानले राम्रो योगदान गरेपछि अस्ट्रेलियाले भारतसामु विशाल लक्ष प्रस्तुत गर्न सकेको थियो । अस्ट्रेलियाले समग्रमा सात विकेट गुमाएर ३५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५६, मिचेल मार्सले ९६, स्टिभन स्मिथले ७४, मार्नस लाबुसाग्नेले ७२ रनको योगदान गरेका थिए ।

यद्यपी भारतले तीन म्याचको यस एकदिवसीय शृंखला २–१ ले जितेको छ । यसअघिका दुबै खेल भारतले जितेको थियो ।

भारतमा आगामी अक्टोबरमा हुने एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलका रुपमा यी दुई टिमबीच खेल भएको हो । अब भारत र अस्ट्रेलियाबीच आगामी बिहीबारदेखि पाँचवटा टी२० क्रिकेट प्रतियोगिता भारतमै हुनेछन् । एजेन्सी