२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोतीको केरुङ्गे खोलामा पुल निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन



अ+ अ-

नवलपरासीः  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।

विसं २०७७ असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती –४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल काम विसं २०७५ मा सुरु भएको थियो । पुलको केही भाग निर्माण सकिएको छ । बीच खण्डमा ढलानको काम बाँकी रहेको छ । आफूले पटक–पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको र कामसमेत अघि नबढाएको उहाँले बताउनुभयो ।

“वडा, पालिकास्तरबाट पटक–पटक ताकेता गर्यौँ तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ”, वडाध्यक्ष लोहनीले भन्नुभयो । पुल निर्माण नहुँदा पानी पर्ने बित्तिकै आवतजावतमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

एक सय ४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । तर पटक–पटक म्याद थप गर्दासमेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पछिल्लोपटक विसं २०८० असारसम्म पुल निर्माण गर्ने गरी म्याद थप गरिएको थियो । यस अवधिमा समेत काम नसकेपछि पुलको काम झनै अन्योल अवस्थामा पुगेको वडाध्यक्ष लोहनीले बताउनुभयो ।

कावासोती –३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहजरूपमा सदरमुकाम कावासोती आउने सडकखण्डको पुलसमेत भएकाले यसको निर्माणमा ढिलाइ हुँदा जनताले धेरै सास्ती खेप्नुपरेको उहाँको भनाइ थियो ।

निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरी ठेकेदारलाई झिकाई आवश्यक कारबाही र निर्माणको काम अघि बढाउन यसअघि पत्राचारसमेत गरेको थियो । गत असारमा निर्माण कम्पनीले असारभित्र ढलान गरी काम सक्ने प्रतिबद्धतासमेत जनाएकामा सो समयमा कुनै काम नगरी अहिलेसम्म अलपत्र पारेको वडाध्यक्ष लोहनीले बताउनुभयो ।

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट म्याद थप भएमा काम अघि बढ्ने जानकारी दिनुभयो । नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय आएमात्र म्याद थप हुने उहाँले बताउनुभयो । विकल्पमा सोही ठेकेदारबाट काम गराउनका लागि १० प्रतिशत क्षतिपूर्ति तिराएर काम लगाउन सकिने उहाँको भनाइ छ । ‘पुल निर्माण यसअघि नै सक्नुपर्नेमा ढिलो भयो, म्याद थप भएको छैन, केन्द्र सरकारले म्याद थप गरेमात्रै काम अघि बढ्ने हो वा क्षतिपूर्ति तिरेर काम गर्न सक्छ”, उहाँले भन्नुभयो, “अब वर्षा पनि कम हुन लागेको छ, ठेकेदारलाई चिठ्ठी काट्नुपर्ला ।” रासस