• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सुत्दासुत्दै झट्का किन लाग्छ ? गहिरो निद्राका लागि अप्नाउनुहोस् यस्तो सजिलो उपाय !



काठमाडौं । स्वस्थ्य तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ ।

यसकारण लाग्नसक्छ सुत्दासुत्दै झट्का :

कतिजनालाई सुतिरहेका समयमा अचानक झट्का महसुस हुन्छ । कसैलाई गहिरो निद्रामा सुतिरहेका बेला अचानक झट्का महसुस हुने गर्छ । त्यतिमात्र होइन, कतिपयलाई त झट्काकै कारण सुतिरहेको बेलामै पनि तल झरेजस्तो समेत महसुस हुन्छ । संसारका झण्डै ७० प्रतिशत मानिसले यस्तो झट्का महसुस गरिरहेका हुन्छन् । यसको मतलब के पनि हो भने मानिसहरू न त पूरै सुतेका हुन्छन्, न त पूरै उठेका नै हुन्छन् । कतिपयलाई भने डर, त्रास, अनिद्रा तथा निद्रा सम्बन्धी अन्य समस्याका कारण पनि यस्तो हुने गर्छ ।

यस्तो कुरा केही समयका लागि मात्र महसुस हुने गर्छ त्यसैले यसकै कारण मानिसको मृत्यु भने हुँदैन । त्यसैले त, यस्तो समस्या हुने व्यक्तिहरूले खासै गम्भीर समस्या भएको महसुस गर्दैनन् । यस्तो समस्या बारम्बार दोहोरिरहेको खण्डमा भने मानिसलाई अवश्य पनि एन्जाइटीको समस्या हुनसक्छ । साथै यसले निद्रा समेत बिगार्नसक्ने हुँदा जो कोही पनि यस्ता कुराबाट टाढै रहन चाहन्छन् ।

सुत्दा झट्का महसुस हुने कारण :

१) क्याफिनको बढी प्रयोग- तनाव वा सुत्नुअघि मदिरा तथा क्याफिनको सेवनका कारण पनि बारम्बार यस्तो झट्का महसुस हुने गर्छ । यद्यपि यसको वैज्ञानिक पुष्टि भने भएको देखिँदैन ।

२) आइरनको कमी- साँझको समयमा धेरै एक्सरसाइज गर्दा तथा क्याल्सियम, म्याग्नेसियम एवं आइरनको कमी हुँदा यस्तो झट्का बारम्बार महसुस हुने गर्छ ।

३) निद्राको कमी- जब हामी सुत्ने कोसिस गर्छौं तब हाम्रो मस्तिष्क अर्धचेत अवस्थामा रहने गर्छ । यस्तो अवस्थामा मस्तिष्कको आधा भाग सक्रिय रहन्छ । त्यसबाहेक सुत्दा नमिलेमा वा अप्ठ्यारो गरी सुतेमा समेत यस्तो झट्का महसुस हुने गर्छ ।

४) उत्तेजित पार्ने तत्व- नसालाई उत्तेजित पार्ने औषधीका कारण वा चिकित्सकको सल्लाहविना सेवन गरिएका विभिन्न औषधीहरूको प्रयोगले पनि हाइपनिक जर्क हुनसक्छ ।

५) मांसपेशीको ऐँठन- कतिपय अवस्थामा मांसेपेशीमा हुने ऐँठनका कारण पनि हाइपनिक जर्क हुने गर्छ । विशेषगरी, मांसपेशीमा ऐँठन भएमा शरीरमा घर्षण पैदा हुन्छ, जसका कारण मांसपेशीबाट आवाज निस्कन्छ र शरीरले झट्का महसुस गर्छ ।

६) निद्रा र अनिद्राबीचको अवस्था- सामान्यतया सुतिरहँदा हाम्रो मस्तिक निद्रा र अनिद्राको बीचको स्थितिमा रहने गर्छ । यो यस्तो स्थिति हो, जसमा मस्तिकले गहिरो निद्रा लिने भरपूर कोसिस गरिरहेको हुन्छ । यो मस्तिष्कको संक्रमण काल पनि भएकाले यही अवस्थाका कारण शरीरले बारम्बार झट्का महसुस गर्छ ।

मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन् :

१) सुत्ने तालिका- सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी बसालेमा अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

२) खानेकुरा- तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।

३) नुहाउनु- शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुपर्छ ।

४) बत्ती- बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

५) मोबाइल- सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

६) चुरोट- चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

७) लेख्ने- अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको मनोचिकित्सकले बताउने गरेका छन् । उनीहरू यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने सुझाव छ ।

८) सकारात्मक सोच राख्नुस्न- सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर निद्रामा पर्छ ।

९) दिउँसो नसुत्ने- राति सुत्नाले शरीरले आवश्यक आराम पाउँछ र उठेपछि स्वस्थ र फुर्तिलो महसुस हुन्छ। दिउँसो सुत्नै परे भरसक बिहानीपख वा मध्यान्हअघि सुत्ने र २० मिनेटभन्दा बढी नसुत्ने । दिउँसो निद्रा लागे केहीबेर हिँड्ने, एक गिलास चिसो पानी पिउने वा कुनै साथीसँग एकछिन फोनमा कुरा गर्ने।