८ माघ २०८१, मंगलवार
,
Latest
फिल्म ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ सी र पुटिनबीच भिडियो वार्ता सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने सैफ अली खान ५ दिनपछि अस्पतालबाट डिस्चार्ज सरकार हाम्रो प्राथमिकता होइनः अध्यक्ष प्रचण्ड भैरहवा पुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने– तस्बिरहरु सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका राष्ट्रपति ट्रम्पबारे यी रोचक कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ



अ+ अ-

काठमाडौँ । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरेपछि उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

यो शपथसँगै डोनाल्ड ट्रम्प पराजयपछि ह्वाइट हाउस फर्कने दोस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । यसभन्दा चार वर्षअघि २०२१ जनवरी ६ मा राष्ट्रपति निर्वाचनको नतिजा घोषणा हुन लाग्दा २ हजारभन्दा बढी मानिसको भीड अवरोध तोडेर प्रवेश गरेको थियो ।
मानिसहरूले ट्रम्पको पराजयलाई षड्यन्त्र भन्दै बाइडेनको जित खारेज गर्न माग गरिरहेका थिए ।

अमेरिकी इतिहासमा राष्ट्रपतिका समर्थकहरूले संसद भवनमा आक्रमण गरेको यो पहिलो पटक हो । डोनाल्ड ट्रम्पमाथि आक्रमणको आरोप लगाइएको थियो र उनले आफ्ना समर्थकहरूलाई त्यसो गर्न उक्साएको भनिएको थियो ।

यो घटनापछि ट्रम्पको राजनीतिक करियर समाप्त भएको मानिएको थियो तर ४ वर्षपछि डोनाल्ड ट्रम्पले ऐतिहासिक जित निकाल्दै कमला ह्यारिसलाई पराजित गरेर फेरि राष्ट्रपति बनेका छन् ।

ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीका बासिन्दा थिए । फ्रेडरिक ८ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । उनी बाल्यकालदेखि नै कमजोर थिए, जसका कारण खेतीपाती गर्न सकेनन् । जसका कारण उनकी आमाले उनलाई नाई बन्ने तालिम दिइन् ।

लेखक ग्वेन्डा ब्लेयरले आफ्नो पुस्तक ‘द ट्रम्प्सः थ्री जेनेरेसन्स द बिल्ट एन एम्पायर’ मा लेखेकी छिन् कि फ्रेडरिक धेरै मेहनती थिए र हप्ताको सात दिन काम गर्थे । तर, १६ वर्षको उमेरमा फ्रेडरिक भागेर अमेरिका जानुपर्‍यो ।

त्यतिबेला जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानुन थियो । यसबाट डराएर फ्रेडरिकले देश छोडे । उनी १० दिनको यात्रा गरेर अक्टोबरमा न्यूयोर्क पुगेका थिए ।

अमेरिका आएपछि फ्रेडरिकले नाईको काम गर्न थाले । केही पैसा जम्मा गरेपछि, उनले अलास्कामा खानी व्यवसायमा हात हाले । उनको यो व्यवसाय राम्रो चल्यो । उनको खानीबाट धेरै सुन उत्पादन भयो ।

फ्रेडरिक केही वर्षमै धेरै धनी भए । केही वर्षपछि, फ्रेडरिक जर्मनी गए र १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी केटीसँग विवाह गरे । पछि दुवै अमेरिका फर्किए । तर एलिजाबेथले अमेरिकाको जाडो सहन सकिनन् । उनी बिरामी पर्न थालिन् ।

आफ्नी पत्नीको अवस्था देखेर, फ्रेडरिक फेरि १९०४ मा जर्मनी गए । तर, उनको आगमन जर्मन सेनाका अधिकारीहरूलाई मन परेन । फ्रेडरिकलाई देश छोड्न आदेश दिइएको थियो । फ्रेडरिकले जर्मनीमा टिकट सम्बन्धी केही घोटाला गरेको पनि केही रिपोर्टहरूमा दावी गरिएको छ ।

फ्रेडरिकले आफ्नी गर्भवती पत्नी र जवान छोरीलाई न्यूयोर्कमा ल्याए । केही महिनापछि, एलिजाबेथले डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्पलाई जन्म दिइन् ।

डोनाल्ड ट्रम्पका बुबा, फ्रेड ट्रम्प, फ्रेडरिकका तीन सन्तानमध्ये माहिला थिए । उनको जन्म ११ अक्टोबर १९०५ मा न्यूयोर्कमा भएको थियो । उनका बुबा जर्मनीबाट भए पनि, फ्रेड पूर्णतया अमेरिकी थिए र जर्मन भाषा जान्दैनथे । उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरे । फ्रेडलाई बाल्यकालदेखि नै कडा परिश्रम गर्ने रुचि थियो । उनले स्कुलपछि राति निर्माणसँग सम्बन्धित प्लम्बिङ, सिकर्मी र बिजुलीको तार लगाउने काम सिके ।

१९१८ मा, जब उनी भर्खर १५ वर्षका थिए, उनका बुबा फ्रेडरिकको मृत्यु भयो, र परिवारको जिम्मेवारी उनीमाथि आयो । सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन’ नामक घर जग्गा कम्पनी खोलेका थिए । फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए, र छोटो समयमा उनी न्यूयोर्कका सबैभन्दा सफल युवा व्यापारीहरूमध्ये एक भए ।

विशेष गरी, उनले दोस्रो विश्वयुद्धको समयमा सरकारी योजनाहरूको फाइदा उठाउँदै धेरै घरहरू बनाए । उनले ब्रुकलिन र क्वीन्स जस्ता क्षेत्रमा सस्तो घरहरू बनाएर मानिसहरूलाई त्यहाँ भाडामा बस्न दिने गर्थे । उनका परियोजनाहरू ठूला थिए, जसले उनलाई राम्रो नाफा ल्यायो ।

यो १९३० को दशक थियो जब फ्रेड ट्रम्प एक पार्टीमा गए, जहाँ उनले मेरी एनी म्याकलोड नामक स्कटिश महिलालाई भेटे । बायोग्राफी ‘ट्रम्प रिभिल्ड’मा माइकल क्रानिस र मार्क फिशरले भनेका छन् कि त्यही रात फ्रेड घर फर्किएपछि उनले आफूले विवाह गर्ने महिला फेला पारेको घोषणा गरे । यसपछि उनले सन् १९३६ मा मेरी एनी म्याक्लियोडसँग विवाह गरे ।

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्यूयोर्कमा भएको थियो । धनी परिवारमा जन्मेका कारण डोनाल्ड ट्रम्पको बारेमा भनिन्छ कि उनी चाँदीको चम्चा लिएर जन्मेका हुन् ।

डोनाल्ड ट्रम्प फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन् । ट्रम्प भन्दा जेठो फ्रेड जुनियर थिए र उनका दुई बहिनीहरू थिए । यसबाहेक एक भाइ रोबर्ट ट्रम्प उनीभन्दा कान्छो थिए । फ्रेड कडा र अनुशासनात्मक बुबा थिए । उनी आफ्ना छोराछोरीहरू मेहनती र ठूलो सपना देख्न चाहन्थे । छोरा डोनाल्डसँग उनको विशेष स्नेह थियो ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार डोनाल्ड ट्रम्प ३ वर्षको हुँदा उनले बुवाको ब्यापारबाट वार्षिक २ लाख डलर कमाउन थालेका थिए । ट्रम्प ८ वर्षको हुँदासम्म उनी करोडपति बनेका थिए ।

ट्रम्प साढे दुई वर्षका हुँदा उनकी आमा बिरामी पर्न थालिन् । जसका कारण ट्रम्पका बुबाले उनको पालनपोषणमा ठूलो प्रभाव पारेका थिए । ट्रम्पका जीवनीकार मार्क फिशर भन्छन् कि जब कसैले ट्रम्पलाई उनकी आमाले उनलाई कसरी माया गरिन् भनेर सोध्छ, ट्रम्पसँग कुनै जवाफ छैन ।

ट्रम्पले न्युयोर्कमा ७ कक्षासम्म पढेका थिए । ट्रम्पको व्यवहार स्कुल पढ्दादेखि नै आक्रामक थियो । स्कुलमा आफूसँगै पढ्ने केटाकेटीलाई उनी कुटपिट गर्थे । यसबारे ट्रम्पका बुबालाई बारम्बार गुनासो आउने गरेको छ । ट्रम्पले घरमै आफ्नो भाइलाई पनि धम्की दिन्थे ।
जसका कारण उनका बुवाले उनलाई न्यूयोर्क मिलिटरी स्कूलमा भर्ना गराए । ट्रम्प १३ वर्षको उमेरमा मिलिटरी स्कुल जान बाध्य भएका थिए ।

ट्रम्पको बारेमा किताब लेखेका टिमोथी ओब्रायनले ट्रम्पलाई आफ्नो सैन्य विद्यालयको बारेमा कुरा गर्न मनपराउने बताएका छन् । ट्रम्पले भने कि जब उनी मिलिटरी स्कूल पुगे, लाइनबाट बाहिर निस्कँदा कसैले थप्पड हाने । ट्रम्पका जीवनीकार मार्क फिशरका अनुसार डोनाल्ड ट्रम्प मिलिटरी स्कुलमा समेत आफ्ना सहपाठीलाई चिच्याउँथे र कराउँथे । आफ्नो बुबाबाट पाएको पालनपोषणले ट्रम्पलाई स्वाभाविक रूपमा प्रतिस्पर्धी बनाएको थियो । मिलिटरी स्कुलमा पनि उनको यस्तै व्यवहार थियो । यहाँ पनि उनी सबैसँग प्रतिस्पर्धा गर्थे ।

द ट्रम्प्सका लेखिका ग्वेन्डा ब्लेयर भन्छिन् कि ट्रम्पलाई यो सबै मिलिटरी स्कूलमा गर्न मन पर्थ्यो । तर, यही कारण उनका सहपाठीले उनलाई मन पराएनन् । ट्रम्पले सैन्य विद्यालयबाट उनीभित्रको नेतृत्व क्षमता उजागर भएको थियो । सन् १९६४ मा सैन्य विद्यालयबाट उत्तीर्ण भएपछि ट्रम्पले फोर्डहम विश्वविद्यालयमा दुई वर्ष अध्ययन गरे ।

त्यसपछि उनले पेन्सिल्भेनिया विश्वविद्यालयमा स्थानान्तरण गरे । यहाँ उनले घर जग्गा कार्यक्रममा शिक्षा हासिल गरे । यसपछि ट्रम्पले सन् १९६८ मा इकोनोमिक साइन्समा डिग्री लिए । ट्रम्पले आफ्नो जेठो भाइ फ्रेडलाई धेरै माया गर्थे । अत्यधिक मदिरा सेवनका कारण ४३ वर्षको उमेरमा फ्रेडको मृत्यु भएको थियो । त्यसपछि ट्रम्पले जीवनभर रक्सी र चुरोट त्याग्ने निर्णय पनि गरे ।

सन् १९६० को दशकको उत्तरार्धमा अमेरिका भियतनाम युद्धमा फसेको थियो । यस समयमा अमेरिकाका प्रत्येक युवालाई अमेरिकी सेनामा सेवा दिन आवश्यक थियो, तर ट्रम्पले त्यसलाई वेवास्ता गरिरहे । खुट्टाको रोग र मेडिकल अध्ययनको बहाना बनाएर उनले ५ पटक सेनाको सदस्य हुन अस्वीकार गरे ।

वैवाहिक जीवन

भ्यानिटी फेयर म्यागजिनका अनुसार यो त्यो ठाउँ थियो जहाँ मोडलहरूले डेटिङका ​​लागि धनी पुरुषहरू खोज्थे । एक साँझ, डोनाल्ड ट्रम्प यस वारमा आए । यहाँ उनको नजर चेकोस्लोभाकियाकी मोडेल इभानामा पर्यो ।

सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इभानालाई विवाहको प्रस्ताव राखेका थिए । ट्रम्पले भने– ‘यदि तिमीले मसँग बिहे गरेनौ भने तिम्रो जीवन बर्बाद हुनेछ । इवाना विवाहमा सहमत भइन् । दुवैले ९ अप्रिल १९७७ मा विवाह गरेका थिए ।’

ट्रम्पले उनलाई १०० गुलाब पठाए र बाहिर घुम्न लगे । इभानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’ मा लेखेकी छिन् कि ट्रम्पले उनलाई ३ महिनासम्म हरेक दिन फोन गर्थे । दुवैले एकअर्कालाई धेरै महिना डेट गरेका थिए ।

इभाना र ट्रम्पका ३ सन्तान थिए । यसमा डोनाल्ड जूनियर, छोरी इभान्का र कान्छो छोरा एरिक समावेश छन् । विवाहको ८ वर्षपछि मात्रै उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । सन् १९८५ मा ट्रम्पले मोडल मार्ला म्यापल्सलाई टेनिस खेलको क्रममा भेटेका थिए । यसपछि दुवैको अफेयर सुरु भयो ।

१९८९ मा, इभाना क्रिसमस बिदाहरू बिताउन एस्पेन, कोलोराडो पुगिन् । मार्ला म्यापल्स पनि त्यहाँ थिइन् । मार्लाले इभानासँग आफ्नो परिचय दिईन् र भनिन्– ‘म मार्ला हुँ, म तिम्रो श्रीमानलाई माया गर्छु, के तिमी पनि उसलाई माया गर्छौ ?’

इभानाले आफ्नो पुस्तकमा लेखेकी छिन्– यो प्रश्न सुनेर म छक्क परें । मैले तुरुन्तै भनेँ– ‘गेट वाउट’ । म मेरो श्रीमानलाई माया गर्छु । मैले मार्लालाई जवाफ दिएँ, तर म स्तब्ध भएँ । केही समयपछि मैले ट्रम्पसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरें ।’

ट्रम्प र इभानाको झगडा देशभर लोकप्रिय भयो । हरेक दिन ट्रम्प, इभाना र मार्लासँग सम्बन्धित समाचार पत्रपत्रिकामा हेडलाइन बनेका थिए । यसैबीच, अखबारमा एउटा हेडलाइनले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो, जसमा लेखिएको थियो ‘ट्रम्पसँग मेरो जीवनको सबैभन्दा राम्रो शारीरिक सम्बन्ध थियो’ मार्लाले मिडियालाई यो बताएकी थिइन् ।

जसका कारण ट्रम्प–इभाना मुद्दा अदालतसम्म पुग्यो । इभानाले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यतिबेला ट्रम्पले इभानालाई करिब ५७ करोड रुपैया तिर्नुपरेको थियो ।

त्यसपछि ट्रम्पले मार्लासँग विवाह गरे । मार्ला त्यतिबेला ७ महिनाकी गर्भवती थिइन् । दुई महिनापछि ट्रम्पको चौथो सन्तान टिफनीको जन्म भयो । तर, मार्ला र ट्रम्पबीचको सम्बन्ध ३ वर्ष मात्र टिक्यो । दुवैले सन् १९९७ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेदपछि न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मार्लाले भनिन्, ‘मैले बिहे गर्न चाहेको व्यक्ति डोनाल्ड थिएन । ट्रम्प र उनको संसार मेरो लागि एलियन थियो । उनीबाट अलग भएकोमा म धेरै खुसी छु ।’

डोनाल्ड ट्रम्प र मार्लाबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए । पोलिटिकोको रिपोर्टका अनुसार यी दुईबीच पहिलो भेट सन् १९९८ मा न्यूयोर्कमा एउटा पार्टीको क्रममा भएको थियो । यहाँ ट्रम्पले मेलानियासँग उनको फोन नम्बर पनि मागेका थिए ।

सन् २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई प्रस्ताव राखेका थिए । दुवैले २२ जनवरी २००५ मा विवाह गरेका थिए । मेलानिया र ट्रम्पको ब्यारोन ट्रम्प नामको छोरा पनि छन् । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेपछि मेलानिया अमेरिकाकी प्रथम महिला पनि बनिन् ।

ट्रम्पको व्यक्तिगत जीवन निकै विवादमा पर्यो । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पलाई सैन्य विद्यालयमा पढ्दादेखि नै ‘लेडिज म्यान’ मानिन्थ्यो । ट्रम्पको सम्बन्ध मोडलसँग मात्र नभई पोर्न स्टारसँग पनि थियो ।

व्यापार व्यवसाय
२५ वर्षको उमेरमा डोनाल्ड ‘द ट्रम्प अर्गनाइजेशन’को अध्यक्ष बने । राष्ट्रपति बनेपछि सन् १९७० र १९८० को दशकमा ट्रम्प महत्वाकांक्षी घरजग्गा व्यवसायीको रूपमा उभिए । ट्रम्पले कम्पनीलाई आवासीय परियोजनाका साथै लक्जरी होटल, क्यासिनो र गगनचुम्बी भवन निर्माणमा लगानी गरेका थिए ।

सन् १९७६ मा ट्रम्पले आफ्नो व्यावसायिक जीवनको सबैभन्दा ठूलो निर्णय लिएका थिए । उनले न्युयोर्कको दिवालिया कमोडोर होटल किने र त्यसको ठाउँमा विलासी होटल निर्माण गर्न हयात समूहसँग सम्झौता गरे । तर, त्यसबेला ट्रम्पसँग यसका लागि पर्याप्त पैसा थिएन ।

यस समयमा उनले आफ्नो बुबाको राजनीतिक प्रभावको फाइदा उठाए । ट्रम्पका बुबा डेमोक्रेटिक पार्टीसँग आवद्ध थिए । उनले न्यूयोर्कका मेयरसँग सम्झौता गरे र होटल करमा ४० वर्षको छुट पाए । त्यसपछि ट्रम्पको बारेमा भनिएको थियो कि उनी न्यूयोर्कमा जे चाहन्छन् त्यही हासिल गर्छन् ।

यसपछि सन् १९८३ मा ट्रम्पले न्यूयोर्क शहरको म्यानह्याटनको फिफ्थ एभिन्यूमा ५८ तले भवन निर्माण गरेका थिए । यसलाई ट्रम्प टावर भनिन्छ ।

ट्रम्प ८० को दशकमा क्यासिनो व्यवसायमा प्रवेश गरेका थिए । उनले सन् १९८४ मा ट्रम्प प्लाजा र १९९० मा ट्रम्प क्यासिनो बनाएका थिए । ट्रम्पले क्यासिनो बनाउन १ अर्ब डलर रुपैयाँ खर्च गरेका थिए । उनले यसलाई संसारको आठौं आश्चर्य भने ।

सन् १९९९ मा डोनाल्डका पिता फ्रेड ट्रम्पको निमोनियाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा, आफ्नो बुबा र आफ्नो उपलब्धिहरूको बारेमा कुरा गर्नुको सट्टा, ट्रम्पले ट्रम्प परिवारको व्यवसायलाई कति टाढा पुगेको थियो भन्ने कुरा गरेका थिए ।

सेलिब्रेटी ट्रम्प
ट्रम्पले हलिउड फिल्म र सिरिजमा पनि अभिनय गरेका छन् । ट्रम्पले पहिलो पटक सन् १९८९ मा ‘घोस्ट कान्ट डु इट’ मा काम गरेका थिए । यो फिल्ममा उनले आफ्नै भूमिका निर्वाह गरेका छन् । यसबाहेक उनले ‘होम अलोन २ः लस्ट इन न्यूयोर्क’, ‘द लिटिल रास्कल’, ‘सेक्स एन्ड द सिटी’ जस्ता करिब ३० फिल्म र सिरिजमा काम गरे ।

ट्रम्पले रेस्लिङको संसारमा पनि आफूलाई चिनाए । एनवाईटी का अनुसार, उनले १९८८ र १९८९ मा रेसल मनिया प्रायोजित गरे । उनी १९९१ र २००४ मा डब्ल्यूडब्ल्यूईमा पनि देखा परेका थिए । यस बाहेक उनले २००७ मा डब्ल्यूडब्ल्यूईका पूर्व सीईओ भिन्स म्याकमोहनसँग बिलियनेयरको युद्धमा पनि लडेका थिए । यस अवधिमा ट्रम्पले म्याकमोहनको टाउको खौरेका थिए र उनलाई ‘तक्लु’ बनाएका थिए । यसरी ट्रम्पले आफूलाई सेलिब्रेटी अनुहारका रूपमा जनतासामु प्रस्तुत गरे ।

निर्विवाद बयानहरूले उनलाई रिपब्लिकन पार्टीको नायक बनायो
ब्रिटानिकाको रिपोर्टका अनुसार ट्रम्पले सन् १९८० को दशकदेखि नै राष्ट्रपतिको दौडमा सामेल हुने विषयमा बयान दिइरहेका थिए । तर, ट्रम्पका यी भनाइलाई पब्लिसिटी स्टन्टका रूपमा हेरिएको थियो । ट्रम्प सुरुमा रिपब्लिकन पार्टीका दर्ता मतदाता थिए ।

तर सन् २००० मा ट्रम्पले रिपब्लिकन पार्टीको सट्टा रिफर्म पार्टीमा दर्ता गराए । सन् २००० मा उनले आफूलाई रिफर्म पार्टीबाट राष्ट्रपतिको उम्मेदवार घोषणा गरे । तर चार महिनापछि नाम फिर्ता लिए ।

ट्रम्प पछि फेरि रिपब्लिकन पार्टीमा सामेल भए । २०१२ मा, ट्रम्पलाई एक पटक फेरि राष्ट्रपति पदको उम्मेदवारको लागि बलियो दावेदार मानिएको थियो । ट्रम्पले राष्ट्रपतीय चुनाव लड्ने कुनै घोषणा नगरेपनि ट्रम्पले बारम्बार तत्कालीन राष्ट्रपति बाराक ओबामाको अमेरिकी जन्मको बारेमा प्रश्न उठाएका थिए । यसबाट ट्रम्प धेरै चर्चामा आए ।

ट्रम्प सन् २०१५ मा आधिकारिक रूपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका थिए । उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरे । ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराका साथ चुनावी अभियान सुरु गरेका थिए ।

रिपब्लिकन पार्टीको प्राथमिक चुनावमा, ट्रम्पले फेब्रुअरी २०१६ को प्रारम्भमा आयोवामा पराजयको सामना गरे, तर चाँडै उनले पुनरागमन गरे र अन्य राज्यहरूमा प्राइमरी जित्न सफल भए ।

मे २०१६ ट्रम्प उनका अन्तिम दुई प्रतिद्वन्द्वी टेड क्रुज र जोन कासिच दौडबाट बाहिरिएपछि रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार बने ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । ट्रम्पले चुनावमा हिलारीको तुलनामा करिब २८ लाख कम भोट पाएका थिए तर धेरै इलेक्टोरल भोट ट्रम्पको पक्षमा आएका थिए । जसका कारण सन् २०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बने ।

राष्ट्रपति हुँदा ट्रम्पलाई दुई पटक महाभियोग लगाइएको थियो । २०१९ मा पहिलो महाभियोग युक्रेनका राष्ट्रपतिलाई जो बाइडेनमाथि छानबिन गर्न दबाब दिने सम्बन्धमा थियो, जबकि दोस्रो महाभियोग २०२१ मा क्यापिटल दंगा पछि उक्साएको आरोपमा थियो । दुवै पटक उनी सिनेटमा निर्दोष भए ।

(एजेन्सीको सहयोगमा)