• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

कृषि प्रधान देशको यस्तो छ हालत- भारतबाट मात्र ५१ करोडको कोदो आयात



झापा । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा रु १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ३१ करोड ९८ लाख बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजारको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिनुभयो ।

पूर्वीनाकाबाट सोही अवधिमा रु ८० करोड ९९ लाख ८४ हजारको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु दुई करोड ७१ लाख ५२ हजारको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, रु चार करोड ९८ लाखको तीन हजार एक सय १३ मेट्रिक टन लौका, रु तीन करोड १० लाख बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र रु तीन करोड ४० लाख ९६ हजारको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्याङ्क छ ।

सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा रु ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजारको चार हजार तीन सय २८ मेट्रिक टन चामल र रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात गरिएको छ । रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजारको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजारको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले बताउनुभयो । संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको उहाँको भनाइ छ । इलाम नगरपालिका–१२ की तुलसा रायाले करिब एक ट्रक फर्सी बिक्री नभएपछि गाईवस्तुलाई खोले खुवाएको बताउनुभयो । रासस