१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजभोलि खेतमा असारे गीत बज्दैनन्, टिकटक बन्छ



फाइल फोटो
अ+ अ-

टीकापुर । विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ ।

‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै
काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’
‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी
मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’

यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि खेतमा गीत गाउँदै रोपाइँ गर्ने चलन हराएको टीकापुरकी मोतिकला परियारले बताउनुभयो । “यस्ता भाका विगतमा गाउँघरमा हुने रोपाइँमा सुन्न पाइन्थे । आजभोलि खेतबारीमा काम गर्दा यस्ता गीत सुन्न निकै कम पाइन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष गीत नगाएरै रोपाइँ सकियो । हामीले एक साताअघि रोपाइँ सकेका हौँ ।”

हिजोआज पहिलाको जस्तो रोपाइँमा गीत गाउँने, अर्मपर्म गर्ने चलन नभएको देख्दा पहिलाको रोपाइँ धेरै सम्झना आउने मोतिकलाले बताउनुभयो । उहाँले असारे गीत र भाका लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “असारे गीत धेरै लोप भएर गए । यी गीतसँग हाम्रो संस्कृति, परम्परा र चालचलन जोडिएको छ”, उहाँले भन्नुभयो, “रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो ।”

कैलालीका कल्धरादेवी विकले आजभोलि विगतका जस्तो रोपाइँ रमाइलो नहुने बताउनुभयो । पहिले जेठानी, देउरानी, छिमेकी र साथीसङ्गी मिलेर रमाइलो गर्दै गरिने खेती आजभोलि नहुने उहाँको भनाइ थियो । “रोपाइँमा बाउसेले गाउने गीत अलग हुन्छन्, रोपाइँ गर्ने महिलाले गाउने गीत फरक हुन्छन्”, उहाँले भन्नुभयो, “बाउसे हुन्थे आजभोलि बाउसे अर्थात् खेलका आली बनाउने, खेतका कुनाकानी खन्ने पुरुषको काम छैन । हलो जोतेको देख्न मुश्किलले पाइन्छ । सबैतिर पावर टिलर तथा ट्र्याक्टरले खेत जोतेको देखिन्छ ।”

विगतमा गीत गाउँदै रोपाइँ गर्नेको अभ्यास आजभोलि फेरिएको स्थानीय राधा शर्माले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे्सँगै रोपाइँ गर्दा समेत टिकटक बनाइरहेका धेरै देखिने उहाँको भनाइ थियो । “अचेल रोपाइँ गर्ने तरिकासमेत बद्लिँदै गएको छ । खेताला जम्मा भएर रापाइँ गर्ने चलन कम हुँदै मेसिनले खेत रोप्ने चलन बढिरहेको छ”, किसान शर्माले भन्नुभयो, “पहिला बिहान ४ बजेदेखि खेतमा पस्थ्यौँ, बाउसेले गाउने गीत फरक हुन्थे, महिलाले गाउने गीत फरक हुन्थ्ये । गीतमार्फत दोहोरी हुन्थ्यो । असारे गीतमा भएका संस्कृति हराउन थालेका छन् ।”

विगतमा रमाइलो गर्दै खेतमा श्रम गर्ने परम्परा आजभोलि असारे गीतसँगै लोप हुन थालेका स्थानीय बताउँछन् । कृषिमा नयाँ प्रविधि भित्रिएकाले जनश्रमको गर्नेको सङ्ख्या कम भए पनि रोपाइँ सहजै सकिने कैलालीकी रिता धामीले बताउनुभयो । उहाँका अनुसार खेती गर्न विभिन्न मेसिनरी सामानले समय बचत हुने गरेको छ भने रोपाइँ गर्दासामाजिक सञ्जालमा रमाइलो गर्नेहरु बढेका छन् ।

आजभोलि महिला टिकटक बनाउने, भिडियो बनाउनेजस्ता कार्य गरेर रमाइलो गर्ने गरेका धामीले बताउनुभयो । “हामीलाई देउडा गाउन आउँदैन, हामीले यस वर्ष रोपाइँ गर्दा टिकटक धेरै बनायौँ’’, उहाँले भन्नुभयो, “टिकटक बनायौँ, विभिन्नखाले भिडियो बनाएर युट्युबमा राख्यौँ, त्यसमा पनि रमाइलो छ ।”

मानिसले समयअनुसार रमाइलो गर्न जान्नुपर्ने रिताको भनाइ थियो । उहाँसँगै साथीहरुले रोपाइँको एक महिना खेतमै काम गर्दै टिकटक बनाएर बिताउनुभयो । “हामीले सबै कामलाई प्रविधिमा जोड्यौँ, रमाइलो गर्दै टिकटक बनायौँ”, उहाँले भन्नुभयो, “गीत गाउन जानेका छैनौँ, नाचेर रमाइलो गर्दै खेतमा काम गर्‍यौँ ।”

संस्कृतिप्रेमी तुलसी देवकोटाले खेती गर्ने अभ्यासमा समाजका संस्कृति र परम्परासमेत जोडिएकाले नयाँ प्रविधिको प्रयोगसँगै पुराना संस्कृति र परम्पराकोसमेत संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । “नयाँ प्रविधि भित्रनु नराम्रो होइन”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र परम्परासँग जोडिएका कला, साहित्य र संस्कृति संरक्षण आवश्यक छ । टिकटक बनाउँदा पनि असारे देउडा गाएर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।” रासस




भर्खरै