२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमूना सदरमुकाम निर्माण गर्न अलमल



अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले अन्योलता सिर्जना भएको छ । काम कहाँ कसरी सुरु गर्ने भन्ने विषयमा नै अहिले अलमल भएको छ ।

विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजना अघि बढेको थियो । करिब रु १६ अर्ब लागतमा नमूना सदरमुकाम निर्माण गर्ने योजना रहेको थियो । तर भवन निर्माण कुन ढङ्गबाट अघि बढाउने अझै अन्योलता रहेको जनाइएको छ । सुरुमा एकीकृतरूपमा सबै कार्यालयको सेवा एकै स्थानबाट दिने गरी भवन बनाउने योजना रहेको थियो । पछि उस्तै प्रकारका सेवाका प्रकृति भएका दुई कार्यालय जोडेर भवनको डिजाइन तयार पारिएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले सोहीअनुसार काम अघि बढाउने योजना बनाएको भए पनि बहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा काम कसरी बढाउने भन्ने नै अन्योलता सिर्जना भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारीदिनुभयो ।

उहाँले अनुसार रु तीन अर्ब ६८ करोडको काम गर्ने गरी बहुवर्षीयका रूपमा अघि बढाउन तयारी गरिएकामा केन्द्रबाट बहुवर्षीयका लागि स्वीकृत नहुँदा के गर्ने भन्ने अन्योल सिर्जना भएको बताउनुभयो । एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरूले बहुवर्षीय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो । ‘हामी तयारीमै थियौँ, बहुवर्षीयका लगि काम अघि बढाउने योजना थियो, तर बहुवर्षीयका लागि स्वीकृत नहुँदा के कसरी अघि बढ्ने अन्योल छ’, कार्यालय प्रमुख थापाले भन्नुभयो, ‘ठूलोरूपमा काम अघि बढाउने भन्दा, सानो रकम पनि हराउँला भन्ने डर भइसक्यो ।’

नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो । साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ । यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजना अघि सारिएको थियो । तर निर्माणस्थलमा कच्ची बाटो बनाउने कामबाहेक हालसम्म कुनै कार्य अघि बढ्न सकेको छैन ।-रासस