५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण



अ+ अ-

बेनी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन् ।

पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप पुनले बताउनुभयो । “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ”, पुनले भन्नुभयो ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जङ्गल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दु:ख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताउनुभयो ।

यस झरनाकै अगाडि अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।

पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ । झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुङ्गे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ । रासस