• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

देशको अर्थतन्त्रलाई आन्तरिक र बाह्य समस्याले घेरेको अवस्था छ



आज मौलाकाली केवलकारको समुद्घाटन भइरहेको यस क्षणमा आजभन्दा ७ वर्ष अघि, २०७३ मंसिरमा काठमाडौँको चन्द्रागिरिमा  प्रधानमन्त्रीज्यूबाट चन्द्रागिरि केबलकारको उद्घाटन भएको दृश्य मेरो स्मरणमा आइरहेको छ ।

त्यस अवसरमा आफ्नो मन्तब्य राख्ने क्रममा प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो ‘मुलुकमा चुनौती र कठिनाई नै प्रसस्तै थिए तर पनि निर्धारित समयमा नै केबलकारको निर्माण सम्पन्न हुनु हामी सबैका लागि प्रेरणादायी विषय हो ।’

हो, प्रधानमन्त्रीज्यूले भन्नुभएजस्तै हामीले २०७१ साल बैशाख ५ गते चन्द्रागिरि केबलकारको शिलान्यास गरेपछि देशले महाभूकम्पदेखि नाकाबन्दीसम्म व्यहोर्नु परेको थियो ।

त्यस्तो कठिन परिस्थितिमा देशमा ठूला संरचना निर्माण गर्नु भनेको कल्पना बाहिरको काम थियो । हामीले चन्द्रागिरि डाँडामा केबलकारका टावरहरु निर्माण गरिरहँदा विनाशकारी भूकम्पले देशबासीका मन मस्तिष्कहरु नराम्रोसँग खल्बलाएको थियो ।

देशको अर्थतन्त्र थला परेको थियो र यसले मुलुकको समग्र निजी क्षेत्रका आर्थिक क्रियाकलापमा ह्रास ल्याइदिएको थियो । तर हामीले भने निर्माणको गति बढायौँ र समयमै आयोजना सम्पन्न गरी सञ्चालनमा पनि ल्यायौँ । यो सकारात्मक खबरको सञ्चार देशव्यापी भयो र अब विकासका संरचनाहरु ठडिन थाले भन्ने आशाको सन्देश सबैतिर फैलाउन सक्यौँ ।

यद्यपि, त्यस समय हामीले भोगेका अप्ठेराहरु अनगिन्ती थिए, जसको बयान म अहिले यहाँ गर्न सक्दिन । तर चन्द्रागिरि केबलकार सञ्चालनमा ल्याएर देशको अर्थतन्त्र तंग्रिन थालेको सन्देश दिन सकेपछि भने हामीले आफ्ना सबै व्यथाहरु विर्सियौँ । आज त्यसको ७ वर्ष पछि हामी अर्को आयोजनाको औपचारिक उद्घाटनको महत्वपूर्ण क्षणमा छौँ । मलाई लाग्छ अहिले पनि मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारोमै छ ।

उबेला भूकम्पले शिथिल बनाए जस्तै अहिले हामी महामारीपछिको अवस्थाबाट गुज्रिएका छौँ । मुलुकमा आर्थिक गतिविधीहरु चलायमान हुन सकिरहेका छैनन् । देशको अर्थतन्त्रलाई आन्तरिक र बाह्य समस्याले घेरेको अवस्था छ । यस्तो अवस्थामा पनि हामीले मौलाकाली केबलबार निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।

हामी निजी क्षेत्रले तोकिएको समयमा, तोकिएको बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मैले सुरुदेखि नै प्रस्तुत गर्दै आएका छु ।
आज उद्घाटन भएको मौलाकाली केबलकार पनि त्यसैको एउटा पछिल्लो उदाहरण हो भन्ने मैले ठानेको छु ।

वर्षमा मुस्किलले दुई चार सय जना पुग्ने चन्द्रागिरि डाँडामा अहिले दिनमै हजारौँ मानिस पुगिरहेका छन् । यो क्षेत्र अहिले आन्तरिक मात्र नभएर विदेशी पर्यटकको पनि प्रमुख रोजाईको केन्द्र बन्दै गएको छ । चन्द्रागिरि काठमाडौंमा पुग्ने हरेक व्यक्तिको एक पटक पुग्नै पर्ने गन्तव्य बनिसकेको छ ।

हामी मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा एउटा केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माणको प्रयासमा आज यहाँसम्म आइपुगेका छौँ ।
बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि आगामी केही हप्तामै सञ्चालनमा ल्याउँदैछौँ ।

चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी हो । यतिखेर हाम्रा सामुन्ने रहेको मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ । हाम्रो दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो । नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान म यहाँ अहिले गर्न सक्दिन ।

हाम्रा यी सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउनका लागि पनि यो नयाँ पर्यटकीय संरचनाले सघाउ पुराउने छ भन्ने अपेक्षा हामीले गरेका छौँ ।

मलाई लाग्छ आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा अझ धेरै पर्यटकीय संरचनाहरु निर्माण हुनुपर्छ । यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो ।

प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर भूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं, यो हाम्रो प्रतिबद्धता हो ।

मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति हुन् । नवलपुरको गहनाका रुपमा निर्मित यो संरचनालाई हामीले स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारेका छौँ र उहाँहरुको अधिकतम सहभागीता गराएका छौँ ।

छोटै समयमा चन्द्रागिरि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । यसले देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न गरेको योगदान अवगत नै छ ।
आज उद्घाटन भएको मौलाकाली केबलकार पनि नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार सहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरुको सामुहिक प्रयासबाट जति दू्रत गतिमा विकास र विस्तार गर्न सक्यो त्यति नै हामी सबै लाभान्वित हुनसक्छौँ भन्ने मेरो धारणा हो ।

मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ र प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ ।

हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । यहाँको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको ज्ञानका लागि नेपालमा पर्यटक आउने गर्छन् ।

त्यसैले त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ ।

“हामीलाई प्रकृतिले अपार सम्पदा बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना असंख्य छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ ।

मलाई लाग्छ, यो मुलुकको निजी क्षेत्र निश्चय पनि विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका पनि छौं ।

वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । धेरै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि लगानीकर्ताहरुलाई आह्वान मात्र गरेर पुग्दैन ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्नुपर्छ ।

सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । म पुनः दोहो¥याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ । पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ ।

यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ । आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन् र ?

सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा निजी क्षेत्रलाई सरकारको बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ ।

मौलाकाली केबलकार प्रालीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन समारोहमा दिनु भएको मन्तव्यको सम्पादित अंश