५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण



फाइल फोटो
अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्नुभएको छ ।

आज कारागारको निरीक्षण गर्दै उहाँले खालि रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताउनुभयो ।

मन्त्री अर्यालले कैदीबन्दीको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिनुभयो ।

उहाँले कैदीको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्दै कमजोरी भए सुधार गर्न कारागार प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

त्यसक्रममा कैदीबन्दीका आफन्तले कारागारसम्म पुग्ने सडक पूर्वाधार निकै कमजोर भएको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री अर्यालले सडक पूर्वाधार छिट्टै सुधारका लागि सहजीकरण गर्ने  प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले हाल देशका विभिन्न बाल सुधारगृहमा रहेका र अवधि बाँकी भएका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्न केद्रीय कारागारमा खाली रहेको एउटा ब्लकलाई सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।

उक्त ब्लकमा बढीमा पाँच सय जना बालबिज्याइँकर्तालाई राख्न सकिने जनाइएको छ । हाल देशभर आठ वटा सुधारगृह रहेका छन् । तीमध्ये चार वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा छन् । रासस