२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजनकै उच्च स्कोर बनेको खेलमा चेन्नईले कोलकातालाई ४९ रनले हरायो



अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को ३३ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो ।

अजिंक्य रहाणेले २९ बलमा ७१ रनको अविजित इनिङ खेले । यसबाहेक शिवम दुबेले २१ बलमा ५० रन र डेभोन कोनवेले ४० बलमा ५६ रन बनाए ।

जवाफमा कोलकाताको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १८६ रन बनाउन सक्यो । जेसन रोयले २६ बलमा सर्वाधिक ६१ रन बनाए । सोही क्रममा रिंकु सिंहले ३३ बलमा ५३ रनको अविजित इनिङ खेले ।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो । यो यस सिजनको सबैभन्दा ठूलो स्कोर थियो । यसअघि इडेन गार्डेनमा सनराइजर्स हैदरावादले केकेआरविरुद्ध २२८ रन बनाएको थियो ।

आईपीएलमा चेन्नईको यो तेस्रो उच्च स्कोर हो । यसअघि चेन्नईले सन् २०१० मा राजस्थानविरुद्ध २४६ र सन् २००८ मा पञ्जाबविरुद्ध २४० रन बनाएको थियो । आईपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान रोयल च्यालेन्जर्स बैंग्लोरको नाममा छ । उनले सन् २०१३ मा बेंगलुरुमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

चेन्नईको इनिङ्स
पहिले ब्याटिङ गरेको चेन्नईको सुरुवात खराब रह्यो । ऋतुराज गायकवाड र डेभोन कोनवेले पहिलो विकेटका लागि ७३ रन जोडे । सुयश शर्माले ऋतुराजलाई क्लिन बोल्ड गरे । उनले २० बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३५ रन बनाउन सके । यसपछि वरुण चक्रवर्तीले कोनवेलाई आउट पारे । आउट हुनु अघि, उनले यो सिजन लगातार चौथो अर्धशतक र आईपीएल करियरको सातौं अर्धशतक प्रहार गरे । कोनवे ४० बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५६ रन बनाएर आउट भए ।

यसपछि इडेन गार्डेनमा अजिंक्य रहाणे र शिवम दुबेको तुफानी ब्याटिङ देखियो । दुवैले ३४ बलमा ८५ रनको साझेदारी खेले । रहाणेले आफ्नो आईपीएल करियरको ३०औं अर्धशतक २४ बलमा पूरा गरे भने यो सिजनको दोस्रो अर्धशतक हो । सोही क्रममा शिवम दुबेले २० बलमा अर्धशतक बनाए । यो उनको आईपीएल करियरको पाँचौं अर्धशतक हो । तर, शिवम अर्धशतक बनाएर आउट भए । उनलाई कुलवन्त खेजरोलियाले जेसन रोयको हातमा क्याच आउट गरेका थिए । शिवमले २१ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रनको इनिङ खेले ।

रविन्द्र जडेजा आठ बलमा दुई छक्का प्रहार गर्दै १८ रन बनाएर आउट भए । रहाणेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनको अविजित इनिङ खेले । यस क्रममा उनको स्ट्राइक रेट २४४.८३ थियो । महेन्द्र सिंह धोनी तीन बलमा दुई रन बनाएर अविजित रहे । कोलकाताका कुलवंतले दुई विकेट लिए । यस्तै वरुण चक्रवर्ती र सुयश शर्माले एक–एक विकेट लिए ।

कोलकाताको इनिङ्स
२३६ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीको सुरुवात खराब रह्यो । टोलीले एक रनमा दुई विकेट गुमाएको थियो । सुनिल नारायण खाता नखोलेर आउट भए । सोही क्रममा एन जगदीशन एक रन बनाएर आउट भए । यसपछि वेंकटेश अय्यरले पनि खास केही गर्न सकेनन् र २० बलमा २० रन बनाएर आउट भए ।

कप्तान नितिश राणा र जेसन रोयले कोलकाताको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि २४ रनको साझेदारी गरे । रन रेट बढाउने क्रममा नितिशले आफ्नो विकेट गुमाए । उनले २० बलमा चार चौका र एक छक्काको मद्दतले २७ रनको इनिङ खेले । यसपछि इडेन गार्डेनमा जेसन रोयको तुफानी ब्याटिङ देखियो । उनले १९ बलमा अर्धशतक बनाए । तर, उनले अर्धशतक बनाएपछि विकेट गुमाए । रोयले २६ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको इनिङ खेले । उनले रिंकु सिंहसँग पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे ।

आन्द्रे रसेलले ६ बलमा ९ रन, डेभिड वेसले एक रन, उमेश यादवले चार रन बनाए । रिंकु सिंहले ३३ बलमा तीन चौका र चार छक्काको मद्दतले ५३ रन बनाएर अविजित रहे । चेन्नईका लागि तुषार देशपाण्डे र महेश टिक्षानाले २–२ विकेट लिए । त्यस्तै आकाश सिंह, मोइन अली, रविन्द्र जडेजा र मथिशा पाथिरानाले एक–एक विकेट लिए ।

यो सिजन सिएसकेको लगातार तेस्रो जित हो । योसँगै चेन्नई सुपर किंग्सको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसको सात खेलमा पाँच जित र दुई हारसहित १० अंक छ । यस्तै, कोलकाताको टोलीले सात खेलमा दुई जित र पाँच हारसहित चार अंक जोडेको छ । टोली अंक तालिकाको आठौं स्थानमा छ ।