४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

तीन लेखकका तीन कृति एकैसाथ विमोचन

तीन लेखकका तीन कृति एकैसाथ विमोचन
अ+ अ-

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अर्थात् २०८० वैशाख १ गते मकालु प्रकाशन गृहले तीनवटा पुस्तक बजारमा ल्याएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो ।

बैशाख १ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण श्रेष्ठ प्रेक्षालयमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँस्थित चिनियाँ दूताबासका उपप्रमुख काउन्सिलर वाङ सिनले तीन पुस्तकको विमोचन गरेका हुन् ।

शुक्रबार विमोचित कृतिहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेतीको चक्रब्यूह नेपाली कविता संग्रहको अंग्रेजी अनुवाद ‘एन इम्पेनट्रेबल फोर्टिफिकेसन’, मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक बासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ छन् ।

उल्लिखित कृतिको विमोचनपछि सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यी किताबहरु महत्वपूर्ण भएको बताए । ढकालले लेखेको चिनियाँ यात्री फाहियानको यात्रा विवरणले इतिहासदेखिको दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जोड दिएको बताउँदै उप्रेतीका नेपाली कवितालाई अंग्रेजी भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउने काम भएको भन्दै प्रशंसा गरे । आचार्यको ‘नयाँ युगमा चीन’ कृतिले नेपालीहरुलाई चिनियाँ नीति र विकासका बारेमा राम्रो खुराक दिएको श्रेष्ठको भनाइ छ ।

नेपालले चीनबाट धेरै कुराको अनुभव लिन सक्ने र लिनुपर्ने बताउँदै श्रेष्ठले भने ‘आचार्यको यो किताबले चीनका समग्र पक्षलाई समेटेको छ र नेपालीहरुले चीन बुझ्नका लागि यो किताब सबैभन्दा उपयुक्त स्रोत हो ।’

विद्धान् लेखकका कृति छपाएर आम पाठकमाझ प्रेरणा र उत्साह जगाएको भन्दै मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक एवं ‘फाहियानको यात्रा विवरण’का लेखक ढकाललाई बधाई र शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘विद्धान् लेखकका खोजमा आधारित भएर लेखिएका यस्ता कृतिहरुको प्रकाशनले निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।’ किताबहरुले नेपाली संस्कृतिको प्रचारप्रसार गरेको र अन्तर्राष्ट्रिय जगतसँग अन्तक्र्रिया गराएको भन्दै उनले यस्तो कार्यले निरन्तरता पाउने आशा पनि व्यक्त गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूताबासका काउन्सिलर वाङ सिनले नयाँ वर्षको पहिलो दिनमै चीन र नेपालबीचको सम्बन्धलाई महत्वपूर्ण टेवा दिने काम गरेको उल्लेख गरे । चीनमा सी चिनफिङको नेतृत्वमा भएको प्रगति र चिनियाँ विकास तथा गरिबी निवारणमा भएको प्रगतिलाई आचार्यले नेपाली भाषामा किताबै लेखेर नेपालीहरुलाई राम्रो जानकारी दिएको उनले बताए ।

विशेष अतिथि चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले लेखकहरुलाई बधाई दिँदै यस्ता खोजमूलक कृतिले नेपाल चीनबीचको हज्जारौं वर्ष पुरानो सम्बन्धलाई बुझ्न थप मद्दत पुग्ने धारणा राख्दै भने, ‘धनी व्यक्तिको छिमेकी गरिब भएमा त्यो धनीको पनि इज्जत रहन्न भन्ने पुरानो चिनियाँ भनाइअनुसार चीनले छिमेकी मुलुकलाई पनि पूँजी, प्रविधि र मानव संशाधनबाट आर्थिक अवस्था उठाउन हातेमालो गरिरहेको छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति तथा कवि गंगा प्रसाद उप्रेतीले आफू कुलपति हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा चीन, भारत, पाकिस्तान, बंगलादेश, इजरायल लगायतका कवि तथा साहित्यकारहरुसँग साक्षत्कार गर्ने क्रममा नेपाली कविताको लेखन पद्धति, शैली, प्रस्तुति, भाव कस्तो छ भन्ने जिज्ञासा मेटाउने प्रयासस्वरुप यो कविताको अंग्रेजीमा अनुवाद गरिएको बताए ।

पूर्व उपकूलपति उप्रेतीले ढकालको पुस्तकको सन्दर्भमा फाहियानको यात्रा प्रसंग जोड्दै नेपालमा जन्मिएका बुद्धभद्र र चीनमा जन्मिएका फाहियानले नेपाल, बुद्ध र लुम्बिनीलाई चीनमा चिनाउन, नेपाल र चीन बीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन आजभन्दा करिब १८ सय वर्षअघि नै ठूलो योगदान दिएको चर्चा गरे । उनले भने ‘उनको यात्रा विवरण’ले आजको पुस्तालाई नेपाल र चीनको इतिहासको गर्भगृहमा लुकेका चाखलाग्दा धेरै तथ्यहरुलाई उजागर गरेको छ ।’
उप्रेतीले भने, ‘फाहियानको यात्रा विवरण’ले नेपाल र चीनको प्राचीनकालीन जनमैत्री सम्बन्ध, बुद्ध धर्मको प्रभाव र बुद्धभद्र तथा फाहियानको द्विपक्षीय भ्रमणले दुई देश बीचको सम्बन्ध बढाउन बलियो जग हालेको इतिहास बुझ्न निकै मद्दत पुग्नेछ ।

चेतनाथ आचार्यको कृति ‘नयाँ युगमा चीन’ पुस्तकको समीक्षा गर्दै पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौड्यालले भने, ‘चीनको राजधानी बेइजिङमा बसेर विभिन्न गाउँ र शहरको विचरण गर्दै पत्रकारका आँखाले त्यहाँको इतिहास पढेर वर्तमानको परिदृश्य भोगेर, देखेर, अनुभव गरेर तयार गरिएको हुनाले यो पुस्तक गहन र सार्थक रहेको छ ।’

चीनलाई हेर्ने आँखा नेपाली नै हुनुपर्छ अर्काले बनाइदिएको आँखाले चीनलाई हेरेर मात्र बुझिँदैन भन्दै भोकमरी र गरिबीमा परेका झण्डै १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेर सबैभन्दा ठूलो मानव अधिकारको उदाहरण चीनले पेश गरेको तथ्यलाई पुस्तकमा आचार्यले समेटेको उल्लेख गरे । पुस्तकमा वर्णशंकर धानको उत्पादनले चीनको बहुआयामिक गरिबी हटाउन, भोकमरी मेटाउन ठुलो मद्दत पुगेको चर्चा गर्दै यस्ता अनेकौँ अभूतपूर्व उपलब्धिबाट नेपालले थुप्रै कुरा सिक्नुपर्नेे धारणा पौड्यालले राखे ।

प्रस्तुत पुस्तकमा सी चिनफिङको जीवनी, सीपीसीको शताब्दी यात्रा, विश्व चर्चित परियोजना बीआरआई, चिनियाँ कृषिको आँखी झ्याल, कृषिमा राष्ट्राध्यक्ष सीको रुचीजस्ता शीर्षकले चीनको समग्र पाटोलाई प्रष्ट पारेको बताउँदै सन् २०१२ बाट नयाँ युगमा प्रवेश गरेको चीनले सन् २०३५ सम्ममा मध्यम स्तरको विकास गर्ने र सन् २०४९ सम्ममा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य निर्धारण गरेको कुरा समेटेर महत्वपूर्ण जानकारी दिएको बताए ।

थुप्रै पे्ररक प्रसंगले भरिएको वर्तमान चीनको समग्र विकासको भावी रणनीति बुझ्न पनि यो पुस्तक अति उपयोगी हुन सक्ने बताउँदै चीनको ऐनाजस्तो लाग्ने यो पुस्तकमा चीनको विगत, वर्तमान र भविष्यको आकृति एक एक गरेर देख्न सकिने कुरामा जोड दिए ।

सम्बोधनकै क्रममा पौड्यालले बासुदेव ढकालको कृति ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ कृतिको चर्चा गर्दै भने लघु आकारमा लेखिएको यस पुस्तकमा मध्य, दक्षिण र दक्षिणपूर्वी एसियाका गरी ३० वटा मुलुकको १५ वर्ष लामो (सन् ३९९–४१४) बुद्ध धर्मको खोजी यात्रा गर्ने ६२ वर्षे बौद्ध भिक्षु ‘फाहियानको यात्रा विवरण’ नेपालका लागि तीनवटा ऐतिहासिक कारणले निकै महत्वपूर्ण देखिन्छ ।

पहिलो उनको १५ वर्षको लामो यात्रा वृतान्तमा लुम्बिनीको वर्णन गर्ने क्रममा उल्लेख भएको ‘नेपाल’ हालको कपिलवस्तु लुम्बिनी, रामग्राम अयोध्यापुरी क्षेत्र चौथो शताब्दीमै आर्थिक, सामाजिक र सांस्कृतिक रुपले वैभवशाली थियो भन्ने ऐतिहासिक तथ्यको उजागर हुन्छ । दोस्रो बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने उनको यात्रा विवरणले शाक्यमुनि बुद्धको देश नेपालमा वर्तमान लुम्बिनी नेपालको भूभाग भएको र गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने तथ्यगत प्रमाण विश्वलाई जानकारी गराउन यो पुस्तकले मद्दत गरको छ । तेस्रो नेपाल र चीन बीचको हजारौँ वर्ष पुरानो सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको ऐतिहासिक प्रमाण नै उनको यात्रा वृतान्त हो जसले नेपाली बौद्ध भिक्षु बुद्धभद्रसँग फाहियानको भेटपछिको झण्डै १८ वर्षे लामो निस्वार्थ सहयात्राले पुष्टि गरिदिएको छ । पौड्यालले भने ‘यस कृतिले बुद्ध नेपालमा जन्मिएका र बुद्धभद्र नेपाली हुन् भन्ने कुरालाई तथ्यगत रुपमा पुष्टि गरेको छ । यति धेरै प्रमाणित तथ्यहरु हुँदाहुँदै पनि अझैसम्म बुद्ध भारतमा जन्मिएका थिए, बुद्धभद्र भारतबाट आएका हुन् भन्ने भ्रम चिनियाँ समाज र अन्य बाह्य क्षेत्रमा पाइन्छ । यस्तो भ्रमलाई चिर्न तथ्यगत प्रमाण सहित लेखिएको यो पुस्तक सान्दर्भिक रहको छ र यसलाई चिनियाँँ भाषामा प्रकाशन गर्न सके अझै उद्देश्यले सार्थकता पाउने छ ।’

गंगाप्रसाद उप्रेतीको ‘चक्रव्युह’ नामक कविता संग्रहको अंग्रेजी अनुवाद संस्करणको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका उपप्राध्यापक तथा साहित्यकार महेश पौडेलले कवितामा समयसापेक्ष नेपाली समाजले भोग्दै आएका समस्यालाई कविताको मूल विषय बनाइएको बताए । उनले भने, ‘भावनाको गहिराइमा डुबेर लेखिएका यी कवितामा समसामयिक समयको गतिसँगै मानिसले भोग्नुपरेका प्राकृतिक प्रकोपको पीडा, राजनीतिक परिवर्तनको छायाँ, भोकमरी, गरिबी र बेरोजगारीका पीडालाई सशक्त रुपमा देखाइएको छ ।’

कार्यक्रमका सभापति तथा मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक एवं ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ पुस्तकका लेखक बासुदेव ढकालले कोरोना महामारीसँगै थलिएको प्रेस तथा प्रकाशन जगत्लाई आशा जगाउनकै लागि भए पनि असहज परिस्थितिमा तीनतीनवटा पुस्तक प्रकाशित गरी आम पाठकमाझ पुर्‍याउने उद्देश्यले यी पुस्तक विमोचन गरिएको बताए ।

कार्यक्रममा चिनियाँ मिडिया ग्रुप नेपाली विभागकी प्रमुख चाङ युए (वर्षा), चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, चिनियाँ मिडिया ग्रुप सीएमजी नेपाली सेवामा कार्यरत पत्रकार एवं ‘नयाँ युगमा चीन’ का लेखक चेतनाथ आचार्यले संक्षिप्त शुभकामना मन्तव्य राखेका थिए ।