१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु भएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका आयोजकसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपाली जातिको भाषा, संस्कृति र कलाको संरक्षण र सम्बद्र्धनका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सरकारले गर्नुपर्ने यस्ता कार्य स्वयंसेवी रुपमा सम्पन्न गर्न लागेकामा आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारका ५० भन्दा बढी देशबाट छानिएका नेपाली कलाकार हाल काठमाडौँ आएका छन् । प्रधानमन्त्री दाहालले संसारमा रहेका नेपाली नागरिकलाई यसरी कला र संस्कृतिका लागि एक ठाउँमा जम्मा पार्ने कार्यको प्रशंसा पनि गर्नुभयो ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वको सो प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले उक्त कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी प्रधानमन्त्री दाहाललाई दिनुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष अधिकारीले आफ्नो मातृभूमिमा आउँदा पनि विदेशी नागरिकजस्तो भएर आउनुपर्ने अवस्थाको अन्त्य गर्न तथा सबै देशमा रहेका गैरआवासीय नेपालीहरूलाई समान मान्यता दिन यससम्बन्धी कानुनमा आवश्यक संशोधन गर्न आग्रह गर्नुभएको थियो ।

सो प्रतियोगिताको ‘साइटलेस अडिसन’ काठमाडौँमा सुरु भएको छ । उक्त प्रतियोगिताको गायन र नृत्यमा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्ने छन् । रासस