८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोफसलका ‘आँखा बा’



अ+ अ-

भरतपुर । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ । उहाँको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ ।

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उहाँको परिचय हो । भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उहाँलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ । नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाउनुभएको छ ।

विसं २०४२ मा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुनुहुन्छ । तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति सङ्घमार्फत विसं २०४४ मा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो । सुरुआतका दिनमा तिनै समाजसेवीले मासिक रु एक हजार र पछि एकमुष्ट रु पाँच हजार सङ्कलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमश: विकासको गति लिन सफल भयो । लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा विसं २०६० पछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुनुहुन्छ ।

सुरुआतीदेखि नै समूहमा उहाँ रहे पनि जुन समयदेखि उहाँले नेतृत्व सम्हाल्नुभयो, अस्पतालले ठूलो सफलता हात पार्‍यो । विसं २०६० मा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमश: सुधारको बाटोमा अघि बढेको हो । समाजसेवी मास्के भन्नुहुन्छ, “विसं २०६७ बाट अस्पताल आफैँ खर्च धान्ने अवस्थामा पुग्यो ।” यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक तीन लाख नाघेको छ ।

विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिनुभएका मास्केले विसं २०४२ देखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, दुईपटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्‍याउनुभएको हो । सो सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के हाल पनि सङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ । ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्‍यो । उहाँ सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन ।

उहाँले भन्नुभयो, “मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो ।” सभापति हुनुअघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छाड्दै गर्दा छ सय पुगेको उहाँ बताउनुहुन्छ । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो सङ्ख्या आठ हजार पुर्‍याउन सकेकामा उहाँलाई गर्व छ । उहाँको निरन्तरको साथका कारण अहिले बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

अस्पतालको दुई उपचार केन्द्र हुँदै गर्दा सभापति हुनुभएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा हुनुभयो । अहिले उपचार केन्द्रको यो सङ्ख्या १४ पुगेको छ । तीनवटा थप गर्ने तयारीमा छ । उहाँले स्मरण गर्नुभयो, “म सभापति हुँदै गर्दा दुई विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो सङ्ख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित एक सय ५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।” अस्पतालमा एमडी अध्ययन गर्नेमात्रै नौ चिकित्सक छन् भने तीन जनाले ‘फेलोसिप’ गरिरहेका छन् । नेत्र सहायक र स्नातकसमेत अध्ययन–अध्यापन हुँदै आएको छ । अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् ।

जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उहाँलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान छ । उहाँकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उहाँ बताउनुहुन्छ ।

आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ, बैङ्ककलगायतका सहरमा पुग्नुभएको छ । उहाँलाई एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मानसमेत गरिसकेको छ । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समितिले स्थापना दिवसका अवसरमा उहाँलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गर्दैछ । स्वयंसेवीहरूलाई पहिलोपटक यो अवार्ड दिन लागिएको हो ।

सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको ‘आँखा बा’को उपमा दिन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उहाँको इमान्दारिता र खटाइका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो ।”

एक व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु ।”




भर्खरै