११ श्रावण २०८३, सोमबार
,
Latest
१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध



अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् ।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले बताउनुभयो । “आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ”, उहाँले भन्नुभयो, “खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । साप्सुखोलामा त्यस्तो देखिन । यसले पर्यावरणमा असर पुगेको छ ।”

विसं २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १० स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत् आयोजना) सँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् ।

साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन् । स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुग्नुभएका प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

“ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ । आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “प्रवद्र्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ ।”

कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाउनुभएको छ । “ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ”, उहाँले भन्नुभयो, “सिडियो साबसँग पनि कुरा भएको छ । अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौँ ।”

करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो । रासस




भर्खरै