काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सबैमा आभार प्रकट गर्दै राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिज्ञा गर्नुभयो ।
उहाँले भन्नुभएको छ, “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।”
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुन:स्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, सङ्घर्ष र अभियानमा ज्यान गुमाउने सबै सपूत शहीदप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूलाई साझा उम्मेद्वारका रुपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरु एवं मतदान गर्नुहुने सबै मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले मित्रवत प्रतिस्पर्धामा रहनु भएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्नुभएको छ ।
“मलाई प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु”, उहाँले भन्नुभएको छ ।
“निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षमा धन्यवाद व्यक्त गर्दछु, सबै शुभेच्छुक तथा सहयोगी मनप्रति धन्यवाद व्यक्त गर्दछु” उहाँले भन्नुभएको छ ।
नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल आज राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार ८०२ र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गर्नुभएको थियो । रासस