६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता



अ+ अ-

कुश्मा । पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।

के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

“हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो”, कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, “त्यसको १० मिनेटपछि चितुवा मर्यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।”

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपुर्याएको छ । कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ । “चितुवा २० केजी जतिको छ”, निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, “बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जङ्गलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।”

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जङ्गलमा छोडिएको थियो । रासस