२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटी आमाका श्रद्धाञ्जली शब्द !



अ+ अ-

मेरो छोरो जो स्वयं कृति भएर बाँच्यो अब !
यस उपन्यासको लेखक डा. सुदीप अर्याल अर्थात् मेरो छोरो । मलाई उसको नामका अगाडि स्वर्गीय लेख्ने आँट नै आउँदैन । पहिलो कुरा त मेरो आफ्नै कोख फोरेर जन्मेको मेरो मुटुको टुक्रालाई म कसरी स्वर्गीय भनूँ ? मेरा पनि चाहना थिए–म ऊभन्दा पहिले बितुँ र उसले मेरो काँधीकाठ गरोस् । तर दैवको लीला, बाटो उल्टियो र मैले नै त्यो बालकलाई आर्यघाट लगेर जानुपर्‍यो र आफ्नै आँखा अगाडि आफ्नै सन्तान खरानी भएको देख्ने अभिशप्त आमा भएर फर्किनुपर्‍यो ।

दोस्रो कुरो, मेरो छोरो अब डाक्टर रहेन । उसैले मनोपरामर्श दिएर ज्यान जोगाइदिएका हजारौँ मान्छे छन् यही समाजमा । तर उही मनोचिकित्सक डाक्टर सुदीप चाहिँ अब रहेन । तर पनि मैले के सुनेकी छु भने अक्षरको साधना गर्नेहरु अमर हुन्छन् । उनीहरको नश्वर देह नासिएर गए पनि उनीहरु आफ्नै कृतिका कारणले कहिल्यै पनि मर्न पाउँदैनन् ।

अचम्म लाग्छ, सधैँ व्यस्त रहने एउटा डाक्टरले कहिले समय निकाल्यो र यो कृतिको रचना गर्‍यो । एमबिबिएस गरुञ्जेलसम्म पनि ऊ पढी नै रहन्थ्यो । एमडी गरुञ्जेल पनि पढी नै रह्यो । दुवै समयमा ऊ यति व्यस्त हुन्थ्यो कि खाना खुवाउनका लागि पनि आमा उसलाई कुरिरहेकी हुन्थेँ ।

कसरी समय मिलायो थाहा छैन, तर यो उपन्यास लेखेछ । लेख्न पनि आफ्नै विषयसँग मिल्ने यस्तो अद्भूत कथा लेखेछ । कथा पढेर । मन फेरि भग्न भयो । हृदयका भित्तामा लागेका घाउका पाप्राहरु फेरि उक्किएर म फेरि अर्कै प्रकारले घाइते भएँ ।

कल्पन्छु– यस कथामा उसैद्वारा लेखिएकी नायिका ‘क्रान्ति, लाई मनोउपचार गरेर बचाउन सफल भएको मेरो छोराले आफूलाई पनि त्यसरी नै बलियो बनाउन सकेको भए !

दुनियाँको जीवनलाई अनमोल ठानेर मनोपरामर्श दिने मेरो छोराले आफ्नो जिन्दगीलाई पनि त्यस्तै अमूल्य ठानिदिएको भए !

तर…
तर भगवान्को इच्छा अर्कै रहेछ ।

अब मेरो छोरो एक चिकित्सक भएर होइन, एक उपन्यास बनेर बाँच्ने भयो । सहिदको सन्दर्भको कुरो गर्दा अरुहरुले भनेको सुन्थेँ–मर्नेहरु अमर हुन्छन् ।

हो, मेरो छोरो पनि अल्पायुमै बित्यो । बित्यो पनि होइन, आफूले आफैँलाई बितायो । के भयो, कसो भयो, केही थाहा नहुँदै बिहे गरेको दुई महिनामै ऊ आफैँले महाप्रस्थानको बाटो रोज्यो ।

मेरो छोरो डाक्टर सुदीपको भौतिक उपस्थिति अब कतै छैन यो संसारमा । मेरो छोरो त स्वयं यो कृति भएर बाँच्यो अब मनोचिकित्सकीय साहित्यको संसारमा । छोरो सुदीप, यी अक्षरहरुमा म तिमिलाई नै देखिरहेछु । तिम्रा यी अक्षरकै ऐनामा अब मैले पनि आफ्नो बुढ्यौलीलाई हेर्ने अभ्यास गरिरहनेछु ।

प्यारो छोरा ! तिमी अक्षर भयौ । ठानेकी छु, तिमी अमर भयौ । तिम्रो आत्मालाई चिर शान्ति मिलोस्, प्रिय छोरो !

सरस्वती अर्याल
बबरमहल, काठमाडौँ ।

 

हो, कुनै पनि बाबुआमालाई आफ्ना सन्तानाको नामका अगाडि स्वर्गीय लेख्ने आँट कसरी आउला ? आउँदैन । आफैले जन्माएको आफ्नो मुटुको टुक्रालाई श्रद्धाञ्जली दिने शब्द कुन आमासँग होला ? हुँदैन, भेटिँदैन । यहाँ एउटी आमाले आफ्नो युवा र कल्कलाउँदो उमेरमा संसार छोडेको छोरालाई श्रद्धाञ्जली लेख्दा निकै काँपेकि छिन् ।

उनको लेखनी यसरी धर्मराए र कम्पन काँपेको देखिन्छ कि त्यस कम्पनबाट जन्मिएका हरेक शब्दले छोरालाई अमरमात्र बनाउने कोशिस गरेको छ । सरस्वती अर्याललाई आँट भन्दा पनि यस्तो बाध्यता आइलागेको छ कि उनले आफ्नो छोरालाई अक्षरमा अमर देख्न चाहन्छिन् र आफ्नै आँटले यी छोराका शब्दहरुको संगालोलाई पुस्तकाकारमा प्रकाशनमा ल्याएकि छिन् ।

आखिर उनीसँग के नै विकल्प छ र ? विधिको विधान नै उल्टो लेखिएपछि सहनुको अर्काे विकल्प के हुन सक्ला ? आफ्नो छोरालाई अक्षरमा देख्छिन् र भन्छिन्– मेरो प्यारो छोरा, तिमी अक्षर भयौ । उनको मन मनमनै बोल्छ– हो, अक्षर त अमर हुन्छन् नि हगि ? अनि उनी भन्छिन्– ठानेकी छु, तिमी अमर भयौ । बजारमा दिनहुँ कैयौँ पुस्तक निस्किन्छन् र बजारमा आउँछन् । तर सरस्वतीको भावुक मनले उनेका यी श्रद्धाञ्जलीका शब्दले धेरैको मन छुन्छ । धेरैलाई भावुक बनाउँछ । अनि मानिसले प्रश्न गर्छ– एउटी आमाले आफ्नो सन्तानलाई दिने श्रद्धाञ्जलीका शब्द कस्ता हुन्छन् ?

सेवाको भावले ओतप्रोत सानै उमेरमा चिकित्सकीय उचाई हासिल गरेका डा सुदीप अर्याल साहित्यिक व्यक्तित्व थिए । उनको डेढ वर्ष जति अघि निधन भयो । डाक्टरको जीवन व्यस्तताको पर्याय हो नै । तर त्यति सानै उमेरमा आफूलाई चिकित्सक पेशाको उचाइमा पुर्‍याउँदै र व्यस्त राख्दै सुदीपले कसरी पुस्तक लेखनको समय व्यवस्थापन गर्न सके होलान् ? जो कोहीमा पनि उत्सुकता हुन्छ, त्यो स्वाभाविक हो ।

अर्काे पक्ष के पनि छ भने त्यो उमेरका उनले समाज बुझेर पुस्तकमार्फत् गरेको प्रस्तुतिले पनि पुस्तक पढ्दा अचम्म लाग्छ । किनभने उनले सिर्जना गरेको त्यो उपन्याशको लेखन सजिलो थिएन अनि पात्र र तिनको व्यवस्थापन त्यस्तै गाह्रो । अर्यालको औपन्यासिक कृति ‘क्रान्ति’ पढ्दा त्यसले नेपालको सामाजिक परिवेशलाई बडो राम्रोसँग सिलसिलाबद्ध रुपमा प्रस्तुत गरेको छ । मनोचिकित्सा विशेषज्ञ युवा डा अर्यालको पुस्तक उनको देहावसानको वर्ष दिनपछि प्रकाशनमा आएको हो र त्यसको प्रकाशन आमा सरस्वती अर्यालले गरेकी हुन् ।

आमा सरस्वती पनि साहित्यिक संसारकी एक श्रष्टा हुन् । डा सुदीपले आफ्नो पेशागत कर्म निर्वाहका क्रममा भोगेका अनुभव र गारोसारोलाई यस कृतिमा समेटेका छन् । आफ्ना अनुभव र घटना–सन्दर्भमाथि आधारित उपन्यास ‘क्रान्ति’ले वास्तवमा नेपालमा सामाजिक क्रान्तिकै एक झझल्को प्रस्तुत गरेको छ । त्यो कुनै हतियार या युद्धको होइन कि मनोसामाजिक क्रान्ति हो ।

जसका अक्षरहरुले सामाज बदल्न र राम्रो सामाजिक रिती बसाल्न सहजीकरण गर्दछन् । सो कृति गत हप्ता काठमाडौंमा लोकार्पण गरिएको हो ।
कलिलै उमेरमा डा सुदीपले छोडिगएको उपन्यास ‘क्रान्ति’ किशोरावस्था र मनोविज्ञानमा चासो राख्ने सम्पूर्ण पाठकका लागि एउटा रोमाञ्चक सिर्जना हो । किशोर मनको आवेग, त्यसमाथि अभिभावकहरूको अवरोध, र त्यसले पार्ने गहिरो कुप्रभाव मानव समाजको एउटा सर्वकालिक तर कटु यथार्थ यसमा समेटिएको छ ।

बाबुआमाले किशोरावस्थामा प्रवेश गरेका छोराछोरीको मनोविज्ञानलाई संवेदनशील भइ बुझेर कदम चाल्ने हो भने त्यो आफैमा एउटा क्रान्ति हुनेछ र छोराछोरीले आफूले इच्छ्याएका सफलताका मुकामहरू चुम्नेछन् भन्ने सन्देश उपन्यासले पाठकमाझ प्रस्तुत गरेको छ । चिकित्सा शास्त्र, विशेषगरी मनोचिकित्साका कतिपय प्रसङ्गहरू विशुद्ध साहित्यक परम्परामा अभ्यस्त पाठकहरूका लागि नयाँ चाखका विषय पनि बन्नेछन् ।

मणिपाल शिक्षण अस्पताल पोखराबाट एमबीबीएस तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान (त्रिवि शिक्षण अस्पताल) बाट मनोचिकित्समा एमडी गरेका अत्यन्त प्रतिभाशाली युवा थिए डा अर्याल । सुदीप अर्याल स्मृति कोषका संस्थापक दिवंगत सुदीपका आमा–बुबाले यस कृतिमार्फत् डा सुदीपलाई अमर बनाउन गरेको प्रयास प्रसंशनीय छ ।

डा सुदीपकी आमा नियात्राकार सरस्वती अर्यालले कुन मनले पुस्तकको भूमिका लेख्न सकेकि छिन् भन्ने कुराको अनुमान कमैले मात्र गर्न सक्छ । तर यसै कृतिमा आफ्नो छोराको अनुहार हेर्ने उनको इच्छाको जन्मका लागि पनि सानो साहसले पुग्दैन होला । पुस्तकको भुमिकाका यी शब्दहरु यसैको पृष्ठभूमिका उपज हुन् ।