५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’



अ+ अ-

कास्की। पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आज पोखरामा ‘टुर दि पोखरा’ साइकल टुर सम्पन्न भएको छ ।

साइकल सिटी पोखराले साइकल प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देशसहित ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ को नारासहित आठौँ संस्करणको साइकल टुर गरेको हो ।

पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब नौ सयभन्दा बढी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले साइकल ¥यालीको माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्य पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीलाई भ्रमण गराउने र हरित क्रान्तिको सुरुआत गराउने उद्देश्य रहेको बताउनुभयो ।

विश्व प्रसिद्ध साइकलयात्री पुष्कर शाहको विशेष सहभागिता रहेको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले साइकल संस्कृतिको विकास र युवाहरूमा साहसिक पर्यटनप्रति रुचि बढाउने कार्यमा यसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“साइकल टुरमार्फत पोखराका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन भएको छ । यसका साथै स्वस्थ जीवनशैली, कार्बन उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षणको सन्देश प्रवाह भएको छ ।”

महानगर प्रमुख आचार्यले साइकल प्रेमीहरूको सहरका रूपमा पोखरालाई विकास गर्ने गरी नौ वटै ताल जोड्ने गरी एक सय १७ किमी लामो साइकल ट्र्याक निर्माणको क्रममा रहेको बताउनुभयो ।

साइकल सिटीका सचिव रामचन्द्र भट्टले कार्यक्रमले साइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै इन्धन बचाउन तथा वातावरण स्वस्थ राख्नका लागिसमेत योगदान पुगेको बताउनुभयो ।