१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाखो जमिनमा गरिएको अम्रिसो खेती आयआर्जनको माध्यम



अ+ अ-

गलेश्वर । म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । दुई वर्षअघि प्रतिकिलो रु ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी रु एक सय २५ मा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् ।

मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो रु एक सयदेखि रु एक सय २५ सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका यामबहादुर सापकोटाले प्रतिकिलो रु एक सय २५ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गर्नुभएको छ । उहाँ बेनी, बागलुङ र पोखरासम्म पु¥याएर अम्रिसो बेच्ने गर्नुहुन्छ । यस वर्ष अम्रिसोको मूल्य केही बढ्नसक्ने अनुमान गरेको सापकोटा बताउनुहुन्छ । अम्रिसो पोखरासम्म पु¥याउँदा गत वर्ष रु एक सय ४० मा बिक्री गर्नुभएका उहाँले यस वर्ष भने रु एक सय ६० सम्ममा बिक्री हुने अनुमान गर्नुभएको छ ।

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।

गुणस्तरीय जीवन विषयमा विधावारिधि गर्नुभएका डा माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अङ्ग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो ।

ग्रेमिनी–पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको महत्व बढेको हो ।

बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इन्जिनियरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि प्रयोग हुन्छ ।

अम्रिसोको बिरुवा बर्सात्का बेला रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन । एकपटक रोपिसकेपछि आफैँ राम्रोसँग हुर्कन सक्ने अम्रिसो रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ ।

अम्रिसोको बाली सङ्कलन भनेको यसको पूmलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा सङ्कलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ–फागुनमा गुच्छासहितको डाँठ काटेर सङ्कलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउनुहुन्छ । रासस