८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङका विद्यालय खुल्न थाले



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।

मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।

यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भन्नुभयो ।

विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उहाँले बताउनुभयो ।

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासों गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।

माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किंदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

“विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्”, अध्यक्ष घलेले भन्नुभयो ।

सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उहाँले बताउनुभयो । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो ।

त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासोँ–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताउनुभयो ।

“गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उहाँले बताउनुभयो ।

यसवर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताउनुभयो ।

माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ । रासस