• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु ★   बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी ★   इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने



फाईल फोटो

काठमाडौँ । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।

दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो । एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उहाँको भनाई थियो । उपाध्यक्ष महराले भन्नुभयो, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकि छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग छलफल गर्न हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धि प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धि प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो । पार्टी एकतासम्बन्धि प्रतिवेदनमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ । त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल शुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा खास गरेर तीन जना कमरेडहरु र मैले पार्टी एकता सम्बन्धि प्रतिवेदन पेस गरेका थियौँ । त्यसपछि जनार्दन शर्माले संगठन सम्बन्धि प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धि प्रतिवेदन पेस गर्नुभयो । र, हिजो अध्यक्षले पेस गर्नुभएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडहरुले आ–आफ्नो मत राख्नु भयो । छलफल गर्नुभयो । अन्त्यमा अध्यक्ष कमरेडले महासचिवको नेतृत्वमा उपमहासचिवहरुको टिमलाई पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजनको ठोस योजना ल्याउने गरी पर्सी १६ गते ११ बजे फेरी बैठक बोलाइएको छ ।’

बैठकले स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रिय कमिटीका नेताहरुको कार्यविभाजनको ठोस प्रश्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टिमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बिहीवारबाट शुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक १६ गते आईतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।