१६ श्रावण २०८३, शनिबार
,
Latest
नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनक शिक्षा सामग्री केन्द्रमा भ्रष्टाचार भएको पत्रकारहरुको दाबी



अ+ अ-

काठमाडौं, ४ माघ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको आरोप छ । उनीहरुका अनुसार गत पुष २७ गते करिव एक लाख ५३ हजार केजी कागज भएका १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने कार्य गरेको पाइएसँगै प्रहरीले १३ वटा कन्टेनर अहिले नियन्त्रणमा लिएको पनि उनीहरुको खुलासा छ ।

जनक शिक्षाको भ्रष्टाचारलाई बाहिर ल्याउन अहोरात्र खटिएका पत्रकारहरु कुश्लव केसी, सन्दीप रेग्मी र अधिवक्ता यज्ञमणी न्यौपानेको टिमले घटना भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएका छन् । तर, उजुरी दिएको आठ दिन वितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेपछि उनीहरुले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

जनक शिक्षामा ठूलो घोटला हुँदैछ भन्ने गोप्य सूचना भित्रबाटै जानकारीमा आएको कुश्लवले बताए । जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागेपनि यसमा लाखौं बालबालिकाको भविष्य जोडिएकोले आफूहरुले उक्त विषय सार्वजनिन गरेको उनको स्पष्टोक्ति थियो ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता सन्दीप रेग्मीले सरकारले अनुसन्धानमा आलटाल गरेर भ्रष्टाचारमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । आफूहरुको आशंका जनक शिक्षाका पदाधिकारीहरुमाथि रहेको र अख्तियारले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले अख्तियारलाई एक–अर्कालाई देखाउँदै अनुसन्धान गर्न आलटाल गरिरहेको उनको आरोप छ ।

‘हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पनि उजुरी दर्ता गराएका छौं । तर समस्या के छ भने अख्तियारले जनक शिक्षा चाहीँ शिक्षा मन्त्रालय मातहतको कार्यालय हो । शिक्षा मन्त्रालयको प्रतिवेदन कुर्नुपर्छ भन्छ । शिक्षा मन्त्रालयबाट यो काम अख्तियारको हो भनेर भ्रष्टाचारमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको छ,’उनले भने ।

त्यसैगरी, अधिवक्ता यज्ञमणी न्यौपानेले आफूहरुले भ्रष्टाचारको सूचना दिएको आज आठ दिन भइसक्दा पनि राज्यले यसबारेमा कुनै चासो नदेखाएको गुनासो पोखे । उक्त विषयलाई यथास्थितिमा राख्न खोज्नुमा गम्भीर आशंका पैदा भएको उनको टिप्पणी थियोे ।

जनक शिक्षाका महाप्रवन्धक अनिल कुमार झा, खरिद प्रमुख र स्टोर प्रमुखलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन पनि उनले सरकारसमक्ष आग्रह गरे ।
‘यी कन्टेनर र यसमा संलग्न व्यक्ति, जनक शिक्षा सामाग्रीका जिएम अनिल कुमार झासहितका खरिद प्रमुखलाई पक्राउ किन नगरिएको ? कि अख्तियारले भन्नुपर्यो यसमा हाम्रो पनि संलग्नता छ भनेर, होईन भने उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले भने ।

साथै, अख्तियारले आफ्नो क्षेत्राधिकार शिक्षा मन्त्रालयमा बुझाउन नमिल्ने उनको तर्क छ । ‘अख्तियारले जनक शिक्षा सामाग्रीलाई कारबाही नगर्नुको कारण के ? अख्तियारका प्रमुख र जनक शिक्षाका प्रमुख एउटै पद्धतीबाट नियुक्ति भएको र कारबाहीको प्रक्रिया अगाडि नबढाईएको भन्ने कुरा बाहिर आएको छ,’ उनले भने । पत्रकार सम्मेलन भने निशा कार्कीले सञ्चालन गरेकी थिईन् ।