• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

महिला क्रिकेटः एपिएफ सुदूरपश्चिमसँग हार्यो



काठमाडौँ । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।

इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । दुवै टोली समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्दा पराजय भोगेको एपिएफ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा अब समूह बी बाट उपविजेताको टुङ्गो लाग्न बाँकी छ । प्रदेश १ ले सबै खेलमा स्पष्ट जित निकाल्दै समूह विजेता बन्दा दोस्रो र तेस्रो स्थानमा समान २÷२ अंक जोडेका टोलीद्वय लुम्बिनी र मधेसबीचको भिडन्तपछि उपविजेताको टुङ्गो लाग्नेछ । दुवै टोली बुधवार प्रतिष्पर्धा गर्दैछन् ।

मंगलवार लगातार तेस्रो खेलमा सफलता निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशले एपिएफबाट पाएको ९२ रनको लक्ष्य निर्धारित २० ओभर सकिन चार बल बाँकी रहँदा ६ विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका लागि डोली भट्टले सम्हालिएको प्रदर्शन गरिन् । ३८ बलको सामना गरेकी डोली भट्टले ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ र ऋतु कनोजियाले १० रन जोडे ।

कविता जोशी र रेवती धामी क्रमश ७ र ८ रनमा अविजित रहे । यसबाहेक अन्य खेलाडीको पनि राम्रो प्रदर्शन हुन सकेन । ६ विकेट निकाल्ने क्रममा एपिएफका लागि नेरी थापाले तीन तथा सुमन बिष्ट, इन्दु बर्मा र कप्तान सीता राना मगरले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको एपिएफले निर्धारत २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित २६, रोमा थापाले १५, ज्योति पाण्डेले १४ र इन्दु बर्माले ११ रन जोडे । सुदूरपश्चिमका लागि कविता जोशीले तीन, ऋतु कनोजियाले दुई तथा कविता कुँवर र मनिषा चौधरीले समान एक विकेट लिए ।

समूह ए बाट सुदूरपश्चिमले तीन खेलबाट स्पष्ट ६ अंक बनाउँदा समूह विजेता बनेको हो । यस्तै समान तीन खेल बाट एपिएफले ४ अंक जोड्दै उपविजेता बनेको हो । क्रमश तेस्रो र चौथो स्थानमा रहेका वागमती प्रदेश र गण्डकी प्रदेशले दुवै खेल गुमाउँदा तालिकामा अंक विहीन छन् । यद्यपि दुवै टोलीले एक/एक खेल खेल्न बाँकी छ ।

यस्तै मंगलवार नै भएको दिनको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित ग¥यो । कर्णालीले प्रश्तुत गरेको ४० रनको लक्ष्य प्रदेश एकले ४.५ ओभरमा कुनैपनि विकेट नगुमाई भेट्टायो । प्रदेश एकका लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ तथा काजल श्रेष्ठले अविजित १३ रन जोडे । ओसिलो मैदानका कारण टसमा ढिलाई भएपछि खेललाई ११ ओभरमा छोट्याइएको थियो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ११ ओभरमा पाँच विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो । कर्णालीका लागि रमा बुढाथोकीले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश एकका लागि ज्योति दनवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले समान एक विकेट लिए ।

प्रतियोगितामा बुधवार समूह चरणका अन्तिम खेल हुनेछन् । दिनको पहिलो खेल मधेस प्रदेश र लुम्बिनी तथा दोस्रो खेल वागमती प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।