• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

विमान यात्रुको बकपत्र – एक जना सिभिलियनलाई किन ककपिटभित्र लगियो ,त्यो उड्डयन सुरक्षाको गंभीर उल्लंघन थियो



विराटनगर जाँदै थिएँ । प्लेनमा म ढिलै पुगेको थिएँ । एकजना मेरो सिटको समानान्तर सिटमा बसेको महानुभाव एयर होस्टेससँग कुरा गर्दै थिए । पूरै अंग्रेजी (मिस्रित उच्चारण सहित) ।

एक छिनमा उनी पाइलट भएको ठाउँ (ककपीट) मा गए केहीबेर वार्तालाप गरे । प्लेन साविकमै डिले भैसकेको थियो । प्लेन हिँड्ने तरखरमा थियो । मैले एयर होस्टेसलाई उड्डयन सुरक्षा उल्लंघनमा माफी माग्न भनेँ । मेरो तर्क थियो, एक जना सिभिलियनलाई किन ककपिटभित्र लगियो । त्यो उड्डयन सुरक्षाको गंभीर उल्लंघन थियो भन्ने मेरो दावी थियो ।

त्यसैमा ती महाशयले मलाई नै थर्काउन थाले । म भित्र गएकोमा तँलाई के को आपत्ति ? मलाई चिनेको छस् ? मैले नचिनेको र चिन्न आवश्यक नभएको पनि बताएँ । मेरो चासो उड्डयन सुरक्षा उल्लंघन गरेको भन्ने मात्र सरोकार थियो । अनि उसले आफ्नो पहिचान बतायो । उ विराटनगर विमानस्थलको हाकिम रहेछ । उसले भन्यो, “मैले उड् भने उड्छ नउड् भने उड्दैन ।” त्यो अधिकार हामीसँग हुन्छ भन्ने दावी पनि उसले गर्यो ।

विराटनगरको प्राविधिकको हैसियतमा त त्यो होला तर अहिले यात्रुको रुपमा रहँदा त होइन होला भनेँ। हामी चौबिसै घन्टा ड्यूटीमा हो, हामीले जे गर्न पनि सक्छौँ भन्यो । यति समय भित्रै उसले मलाई ओराल्ने धम्की दिइराखेको थियो, मलाई देखाइदिन्छु भन्दै थियो नभन्दै उसले एयरपोर्ट प्रहरी बोलायो, मलाई ओराल्ने आदेश दियो ।

अन्तिममा भित्रबाट मूल पाइलट आएर मलाई तपाईं विराटनगर जाने कि ओर्लने ? भनेर भन्यो । मानौँ कि म विराटनगर जाने बसमा कलंकीमा सहचालकसँग गलफत्ती गरेको जस्तो । भोलिपल्ट महत्त्वपूर्ण मुद्दा थियो, विराटनगर उच्च अदालतमा । थप झगडा गर्नुभन्दा सरी भनेर उड्नु नै श्रेयस्कर ठानेँ।

सवार यात्रु कोही कसैले केही चुँक्क बोलेन । मानौँ की सुरक्षा संवेदनशीलता मेरो मात्र चासोको विषय थियो । महाशय मलाई धम्काउँदै थियो । ठेगान लगाइदिन्छु भन्दै थियो । नभन्दै विराटनगरमा अवतरण गर्ने वित्तिकै प्रहरी बोलाएर मलाई अभियुक्त झैँ जिम्मा लगायो ।

मेरो सिटमा सँगै बस्ने एक जना महिला थिइन् । उनी तात्कालीन संसद्मा नेकपा (एमाले) तर्फबाट निरु पाल रहिछन् । मैले नाम त सुनेको, तर अनुहारले नचिन्ने । जहाजभित्रको गलफत्तीमा मलाई आफ्नो कारणले अरु यात्रुलाई डिस्टर्ब नगर्न सुझाएकी थिइन् । ओर्लने क्रममा मलाई प्रहरीले पक्राउ गर्दै गर्दा चाहिँ उहाँको कुनै गल्ति छैन है सम्म भनेकी थिइन् । तर, बहालवाल सांसदले त्यसरी मौनता साँध्नु, त्यसमाथि प्रधानमन्त्रीको नजिकको व्यक्ति । के नीति बनाउलान् यस्ताले ।

मेरो चासो उड्डयनतिरै थियो । म प्रहरीको जिम्मामा आइसकेको थिएँ । प्रहरीले मेरो मादक पदार्थ आदि परीक्षण गर्यो । केही पाउने कुरै थिएन । यो बीचमा मैले पनि आफ्नो केही चिनजानको मान्छेसम्म सम्पर्क बनाइसकेको थिएँ ।

मलाई ती सिटौला थर भएको हाकिमको कचहरीमा लगियो । मलाई या त माफी माग्ने या दुर्व्यवहारमा मुद्दा फेस गर्ने विकल्प सुझाइयो । म मेरो मिसनमा थिइनँ, पक्षको आवश्यकताले विराटनगर गएको थिएँ । मैले मेरो च्यालेन्जभन्दा पनि पक्षको आवश्यकतालाई प्रधान मानेँ । भोलिको मुद्दामा प्रतिनिधित्व मूल कुरा थियो, हाकिमसँग टसलभन्दा पनि । म हाकिमसँग क्षमा माग्दै लागेँ ।

प्रसंग हवाई सुरक्षाको संवेदनशीलता न विमानस्थल हाकिमसँग रह्यो, न पाइलटसँग । एयर होस्टेस त विचरानै भइन् । अनि हवाई दुर्घटना बारबार नभएक के हुन्छ तर  ? पोखरा दुर्घटनामा दिवंगत सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।