काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित प्रतिष्ठित भैरव पुरस्कारअन्तर्गत २०८३ सालका विभिन्न पुरस्कार प्राप्तकर्ताको नाम सार्वजनिक गरिएको छ।
भैरव पुरस्कार गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपालप्रसाद बरालको अध्यक्षतामा बिहीबार राजधानीमा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो।
गुठीका अनुसार यस वर्षको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाललाई प्रदान गरिने भएको छ। हेटौंडा निवासी रिजाललाई प्रदान गरिने पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।
त्यस्तै, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ। यसैगरी ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार देवीप्रसाद चापागाईंलाई प्रदान गरिने गुठीले जनाएको छ।
पुरस्कार अर्पण समारोह असोज १८ गते आइतबार भैरव स्मृति भवनमा आयोजना गरिने गुठीले जानकारी दिएको छ।
पुरस्कार प्राप्तकर्ताहरूको छनोटका लागि गुठीले साहित्यकार विमल अर्यालको संयोजकत्वमा सचिव वसन्त रिजाल र साहित्यकार प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा पुरस्कार प्राप्तकर्ताहरूको नाम तय गरिएको गुठीले जनाएको छ।









