१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने



अ+ अ-

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु ।”

थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ ।” जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताउनुभयो । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।” बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारु जातिको रहनसहन र वेशभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।

थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवबाट थारु जाति र थारु जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिनुभएको छ । पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिनुभएको हो ।

व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिनुभएको हो ।

उहाँले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गर्नुभयो ।

आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उहाँले बताउनुभयो । सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कडेंल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराउनुभएको थियो । रासस