२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर



फाईल फोटो
अ+ अ-

मलङ्गवा । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।

मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताउनुभयो ।

ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । “बिहानैदेखि घर बाहिर निस्कन मुश्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ”, उहाँले भन्नुभयो ।

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरुले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ ।

अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा स्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिनुभयो ।