२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएको छ । 

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारी समेत दिनुभयो । 

मन्त्री भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भईनसकेको स्पष्ट पार्नुभयो । “यो मेरो निर्णय नभई अवधारणा हो ।” उहाँले भन्नु भयो, “निर्णय गरेपछि यहाँहरुलाई फेरी बोलाउनेछु ।” मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सार्नुभयो । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उहाँको भनाई थियो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताउनुभयो । त्यसैगरी उहाँले ट्रान्समिसन लाईन निर्माणको काममा तीव्रता दिने पनि बताउनुभयो । मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उहाँले बताउनुभयो । मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका आधारभूत बस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको जानकारी समेत दिनुभयो । जलविद्युत आयोजनाहरु जग्गाको मुआब्जाका कारण अघि बढ्न नसकेको अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने उहाँले बताउनुभयो ।