५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

महामारीमै भारत जानेहरु भन्छन्, ‘रोगभन्दा भोकको चिन्ता भयो’

महामारीमै भारत जानेहरु भन्छन्, ‘रोगभन्दा भोकको चिन्ता भयो’
अ+ अ-

महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिनुभयो ।

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो । “घरमा आयआर्जन केही छैन्”, गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भन्नुभयो, “कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी रु”

उहाँले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताउनुभयो । “घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने”, उहाँले भन्नुभयो, “हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।” उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै हुनुहुन्थ्यो ।

त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै हुनुहुन्थ्यो । “कोरोनाले स्कुल बन्द भएपछि दुई÷चार महीनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु”, यहाँको बेदकोट नगरपालिका–३ दैजीका बटालाले रासससित भन्नुभयो, “श्रीमान् नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियती नै हो ।” बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताउनुभयो ।

“सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौंँ”, उहाँले भन्नुभयो, “कोरोनाको डर मानेर के गर्नु, खान त चाहियो नी ।” उहाँले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताउनुभयो । दैजीको शारदा माविमा अध्ययनरत उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताउनुभयो ।

“हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदूरीका लागि गइरहेका छन्”, उहाँले भन्नुभयो, “आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो ।” गत चैतमा कोरोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन् ।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हँुदै गएको थियो । पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।

त्यसैगरी दैजीकै १६ वर्षीय हिक्मत धामी कोरोनाको सङ्क्रमणका बीच भारतको सिमला हिँड्नुभएको छ । “बुबा सानैमा भारतको बैङ्लोरमै बित्नुभयो”, धामीले भन्नुभयो, “कोरोनाको अवस्था सामान्य बन्दै स्कुल खुलेपछि फर्किने योजनामा छु ।” धामी पनि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हो ।

त्यस्तै भारतको पिथौरागढ मजदूरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्यथा पनि उस्तै छ । एक दशकदेखि मजदूरीका लागि भारत आउनेजाने गरेका खत्री कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बाध्यता भएको बताउनुहुन्छ ।

“उत्तराखण्डमा कोरोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको”, उहाँले भन्नु्भयो, “आफू र परिवारको भोक टार्न बाध्यताले जानै प¥यो ।” खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरु दुःखले मुग्लान जान लागेको पीडा सुनाउनुभयो ।

“घरपरिवारसित बस्ने रहर त कस्लाई पो हुन्न र रु”, उहाँले भन्नुभयो, “सरकारले कोरोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ ।” कोरोना कहर पुनः बढिरहेका बेला यहाँका शैक्षिक सङ्घ–संस्था बन्द हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अभिभावकसित भारत जाने क्रम बढिरहेको छ ।

“हाम्रो त सरकारी स्कुल अनलाइन कक्षा पनि पढाइ हुदैन्”, उपेन्द्रले भन्नुभयो, “दुई महीना पनि भारतमा काम गरे केही समय खानलाई त आउला भनेर जान लागेको हुँ ।” विद्यालयमा अध्ययन निःशुल्क भए पनि घरमा छाक टार्न आमाले गर्ने सङ्घर्ष सम्झिँदै भावुक बनेका उहाँले भन्नुभयो, “आमाले मजजूरी गरेनन् भने घरमा चुल्हो नै बल्दैन् ।” 

गड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताउनुहुन्छ । “असार १५ गतेयता मात्रै हामीले सातजना उमेर नपुगेका बालबालिकालाई नाकामा रोकेर परिवारसँग  पुनःमिलन गरायौँं”, उहाँले भन्नुभयो, “महिला पनि पछिल्लो समय रोजगारीका लागि भारत जाने क्रम ह्वात्तै बढेको छ ।”

उहाँले बन्दाबन्दीमा पनि महिला तथा बालबालिका बेचबिखनको जोखिम बढेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले कोरोनाको चरम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको बताउनुभयो ।

सुदूरपश्चिमका सीमानाकामा सबैभन्दा बढी कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ । मङ्गलबार गड्डाचौकीबाट ४४३ र गौरीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको प्रवक्तासमेत रहनुभएका न्यौपानेले बताउनुभयो । पछिल्लो समय गड्डाचौकी नाकाबाट भारत जानेका लागि भारतीय सुरक्षा निकायले पनि सहज बनाएको छ ।

केही समयअघिसम्म यो नाकाबाट भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि भारतीय पक्षले नागरिकता र आधार कार्डका आधारमा भारत जान दिएको छ । (रासस)