• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल ★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण



काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।

नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिनुभएको थियो । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिर्नुभएको छैन । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताउनुभयो । राईले दिनुभएको नम्बरमा पटक–पटक लामासँग प्रतिक्रियका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने हुनुुहुन्न । नगरपालिकाको वडा नं ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि उक्त सहकारीको ऋण तिर्नुभएको छैन । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएका योगीले २०७६ असार ३१ गते रु एक लाख ८१ हजार चार सय १६ ऋण लिनुभएको थियो ।

योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गते नै समाप्त भइसकेको छ । लामा र योगीलाई पटक–पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गर्नुभयो ।

“जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरुले दिन मानिरहेका छ्र्रैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन”, उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ । रायमाझीले विसं २०७२ भदौ १६ गते रु तीन लाख २० हजार चार सय ९० ऋण लिनुभएको थियो । रायमाझी पनि २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।

ऋण तिर्न रायमाझी, योगी र लामालाई पटक(पटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ । तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उहाँहरु सम्पर्कमा आउन चाहनुभएन ।

बचत फिर्ता नहुँदा रोकियो मुटुरोगीको शल्यक्रिया

काभ्रेपलाञ्चोकको पाँचखाल स्थायी घर भएकी पार्वती दाहाल विगत दुई दशकदेखि माकालबारीमा पसल चलाउनुहुन्छ । पसलबाट भएको आम्दानी बचत गरे अप्ठ्यारो परेका बेला काम चलाउन सकिन्छ भनी उहाँले सहकारीमा पैसा राख्नुभयो ।

पटक–पटक गरेर दाहालले सहकारीमा रु छ लाख बचत गर्नुभएको छ । दशैँअघि नै मुटुको शल्यक्रिया गर्नका लागि सहकारीमा पैसा फिर्ता माग्न जाँदा उहाँले पैसा पाउनु भएन । उहाँले भन्नुभयो, “मेरो आफ्नै उपचारका लागि सहकारीमा श्रीमानले बचत गरिदिनुभएको हो, तर मैले अप्ठ्यारो परेका बेला पैसा पाउन सकिन ।”

स्थानीयस्तरमा सहकारीलाई नियमन गर्ने नगरपालिकामा कार्यरत पुष्पबहादुर जिसी र अर्जुन श्रेष्ठले पनि मञ्जुश्री सहकारीबाट ऋण लिनुभएको छ । तर उहाँहरूले पनि अहिलेसम्म ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख तामाङले सुनाउनुभयो ।

यसैगरी सहकारीका पूर्वकर्मचारीहरूले लिएको ऋण पनि अझै फिर्ता गरेका छैनन् । सहकारीका पूर्वव्यवस्थापक लेखनाथ लामाले विसं २०७६ असार ३१ गते रु ३२ लाख ५३ हजार चार सय पाँच ऋण लिनुभएको थियो । उहाँले ऋण तिर्नुपर्ने म्याद २०७६ पुस २८ गते नै समाप्त भए पनि अझै ऋण चुक्ता नगरेको पनि सहकारीले जनाएको छ । चन्दु लामा र रामेश्वर चौलागाईँ पनि सहकारीका पूर्वकर्मचारी हुनुहुन्छ । दुवैले लिएको ऋण नतिरेको अभिलेख सहकारीको कार्यालयमा रहेको छ ।

सहकारीका अध्यक्ष इन्द्र लामा ऋणीसँग पैसा उठाएर बचतकर्तालाई फिर्ता गरिने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नाममा घर पनि छ । बचतकर्तालाई पैसा फिर्ता गर्न त्यो घर पनि बेच्ने योजना बनाएको उहाँले सुनाउनुभयो । लामाले भन्नुभयो, “बचतकर्ताले दुःख गरी जम्मा गरेको पैसा हामी खाँदैनौँ, जसरी पनि पैसा फिर्ता गर्न लागेका छौँ, पैसा फिर्ता पाइन्छ भन्नेमा मञ्जुश्रीका बचतकर्ता ढुक्क बन्नुभए हुन्छ ।”

नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले लिएको ऋण फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता बताउनुभयो ।

“नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको ऋणले मात्र सहकारी डुबेको होइन, बचत पैसाले घर किनेर धेरै मूल्याङ्कन गरेको सुनेको छु, पैसा घरमा लगाएपछि बचत फिर्ता हुन नसकेको हो, बचत फिर्ताका लागि हामी पनि पहल गर्छौँ”, उहाँले भन्नुभयो ।रासस