२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको उत्तरी ग्रामिण क्षेत्रमा आय आर्जनको स्रोत बन्दैछ, निगुरो



अ+ अ-

काठमाडौं । जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्नबर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ । 

मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ । मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोशे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्नबर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ । निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन । 

उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन । एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन । मिक्लाजुङ गाउँपालिका ३ की भिममाया विक दैनिक छिमेकी महिलाहरुसँग निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ बजेदेखी ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाँऊ फर्किने गरेको उहाँले बताउनुभयो । अन्य महिनाको तुलनामा बर्षाको ३ महिना निगुरो बढी पाईने गरेको उहाँले सुनाउनुभयो ।

मधुमल्ला टाँडीकी देविका दर्जी समेत दैनिक महिलाहरुको समुह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान बेलुकाको घरधन्दाबाट बँचेको समय उहाँले नियमितरुपमै निगुरो टिप्न खर्चिनुहुन्छ । निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउने गरेको उहाँको भनाई छ ।

मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आईपुग्नुभएका मनबहादुर रसाईली पेशाले दैनिक ज्याला मजदुरी गर्ने मजदुर हुन । पछिल्लो समय कोरोनाका कारण शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उहाँ समेत निगुरो टिपेरै दैनिक गुजारा चलाई रहनु भएको छ । निगुरो टिपेरै सबै खर्च नचल्ने भएपनि भरथेगसम्म हुने गरेको उहाँको भनाई छ ।

जंगलबाट संकलन गरिने निगुरो अधिकांशरुपमा गाउँघरमै खपत हुने गरेको छ भने पुर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यस्को मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित विक्रीका लागि राखिने निगुरो खरीद गरी लान्छन । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखी ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ । निगुरो प्राकृतिक रुपमै उम्रिने र हुर्किने भएकाले बिषादि र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ ।