२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुश्मा नगरपालिकामा तालाबन्दी



अ+ अ-

पर्वत । लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् । 

गत कात्तिक १४ देखि स्वास्थ्य चौकीका इञ्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो । नगरपालिकाले काजमा खटाएका स्वास्थ्य चौकीका इञ्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम हेर्न नभ्याएको बताउँदै आउनुभएको छ ।

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतलाई धेरै पटक सचिवको माग गरे पनि नौ महिनासम्म सचिव नखटाएको भन्दै वडाका जनप्रतिनिधिसहित आएका खुर्कोटवासीले तालाबन्दी गरेका हुन् । सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा समस्या भएको वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले गुनासो गर्नुभएको छ । वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड सङ्क्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले बताउनुभयो । उहाँले कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न अनुरोध गर्नुभएको छ ।