२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा यात्रु अलपत्र



file
अ+ अ-

बैतडी । जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध रहेको छ । गत आइतबारदेखि अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो । 

राजमार्ग पुनः सञ्चालनका लागि भासिएको सडकलाई भत्काएर पर्खाल लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । “वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “पर्खाल नलगाउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन, पर्खालको निर्माण सम्पन्न हुन अझै एक दुई दिन लाग्ने देखिएको छ ।”

चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र  बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका १०० भन्दा बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रु पनि अलपत्र परेका छन् । 

यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिकालगायत ठाउँबाट अन्यत्र जाने यात्रु पनि मार्कामा परेका छन् । वर्षातको समयमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेका छन् ।