२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न

कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न
अ अ+ अ-

बेनीः रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र सहासिक मानिन्छ । भिर पहरामा ज्यान नै हत्केलामा राखेर काम गर्नुपर्ने भए पनि पुनलगायतका युवा मह सिकारको पेशा जोगाउन अग्रसर छन् ।

परम्परागत र पुख्र्यौली पेशाका रूपमा चिनिने मह सिकारको सीप हस्तान्तरण नहुँदा विभिन्न ठाउँमा मह सिकार हराउन थाले पनि यहाँका युवा भने मह सिकारलाई आयआर्जनको माध्ययम बनाएर पुख्र्यौली पेशालाई जोगाउन लागिपरेका हुन् । तेह्र वर्षको उमेरदेखि नै मह सिकारमा लागेका पुनले एक दशक बढी समयदेखि भिरौटेको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

“शुरुमा अरुले मह काढेको हेर्न गएको थिएँ, केही वर्ष मह बोक्ने, काढ्ने ठाउँमा सहयोगीका रूपमा काम गर्ने जिम्मेवारी सम्हालेँ, पछि पराङ हुँदै भिरमा चढ्न थालेपछि सिकारीकै भूमिकामा काम गर्न थालेको हुँ”, पुनले भन्नुभयो । शुरुमा होचा र कम जोखिम भएका भिरहरुमा मह काढेका पुन अहिले भने अक्करे पहाडहरूमा चढेर मह काढ्ने गर्नुहुन्छ । चोयाका डोरीमा झुन्डिएर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उनका लागि सामान्यजस्तै बन्न पुगेको छ । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइएका डोरीको भरमा मह काढ्ने गरेको पुनको भनाइ छ ।

पुनसँगै पात्लेखर्कका ३० वर्षीय धनबहादुर पुन पनि मह सिकारका भिरौटेका रूपमा खटिने गरेका छन् । आठ वर्षदेखि भिरमा चढेर मह काट्ने काम गर्दै आएका धनबहादुरले भिरमा चढ्ने काम कठिन र जोखिमयुक्त भए पनि पुर्खाहरुले अपनाउँदै आएको सावधानी अपनाएर मह काढ्ने गरेको बताउनुभयो । भिरौटेहरुले चोयाको डोरीमा बलिया लौरा बाँधेर बनाइएको भ¥याङ ९पराङ०को सहायतामा भिरमा उक्कले र ओलर्ने गर्छन् । मह सिकारमा प्रयोग हुने सबै सामान चोया र निगालोबाट बनेका हुन्छन् । 

चोयाबाट बनाइएका डालीलाई भिरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन् । पुख्र्यौली पेशाका रूपमा रहेको मह सिकारले आयआर्जन हुने र पुरानो पनि जोगिने भएकाले आफूहरुले यसलाई निरन्तरता दिएको भिरौटे धनबहादुरको भनाइ छ ।

“जडीबुटीजन्य औषधिका लागि प्रयोग हुने भिर माहुरीको महको माग अत्यधिक छ । तर भिरमा झुण्डिएर ज्यानलाई नै जोखिममा राखेर मह झिक्नुपर्ने काम चुनौतीपूर्ण छ, हामीले यसलाई पुरानो पेशाको संरक्षण र छोटो अवधिका लागि आयआर्जनको माध्ययमका रूपमा जोगाउन लागिपरेका हौँ”, उहाँले भन्नुभयो । जेठ, असार र असोज महिनामा गरी दुई याममा मह सिकार हुने भएकाले वर्षमा करिब साढे एक महिना यहाँका युवाहरुले पुख्र्यौली पेशा मह सिकार अँगाल्ने गर्छन् ।

गाउँदेखि टाढाका जङ्गल, खोला, नदीका कठिन बाटो भएर भिर माहुरीको घार भएको ठाउँसम्म पुग्नुपर्छ । हरेक दिन फरक–फरक भिरमा पुग्नुपर्ने, नजिकमा कमै मात्रामा माहुरीको घार हुने भएकाले हरेक दिन कठिन यात्रा र सङ्घर्ष गरेर मह सङ्कलन गर्नुपर्ने बाध्यता रहेको पात्लेखर्कमा मह सिकार गर्ने समूहको नेतृत्व गरेका युवा अङ्कित पुनले बताउनुभयो । “साह्रै ठूलो र कठिन सङ्घर्ष गर्नुपर्छ, जोखिम उत्तिकै हुन्छ, स्थानीय स्रोत र साधनको प्रयोग गरेर मह सिकार गर्दै आएका छौँ, अक्करे भिरमा चोयाको डोरीको भरमा मौरीको टोकाइ सहेर मह काढ्ने भिरौटेहरुको भूमिका महत्वपूर्ण हुन्छ”, पुनले भन्नुभयो । पुनका अनुसार पात्लेखर्कका १२ जना युवाले यस पटकको याममा कन्ठेडम्मार र नरपट्टा खोला क्षेत्रका एक दर्जन बढी भिरमा करिब २० दिन लगाएर मह सिकार गरेका थिए । हरेक याममा काढेको मह बिक्रीबाट रु पाँच लाखदेखि सात लाखसम्म गाउँमा भित्रने गरेको छ ।

महको आम्दानीले निजी शिक्षकको तलब

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा मह सिकारबाट भएको आम्दानीलाई स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकको तलब जुटाउन परिचालन गर्ने गरिएको छ । वडाभित्रका गाउँबस्तीका स्थानीयवासीले आलोपालो गरी मह काढ्दै आएकामा वडा कार्यालयको संयोजनमा टोली विभाजन गरी मह काढ्ने र मह बिक्री गरी आएको आम्दानीबाट बचत हुन आएको रकम विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको हो ।

सङ्कलन भएको महको बिक्रीबाट मह काढ्न परिचालन भएकाहरुलाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालमा निजी स्रोतबाट राखिएका शिक्षकहरूको तलब जुटाउन परिचालन गर्ने गरिएको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । मह सिकारमा भिरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको रु तीन हजार ५००, भिरको टुप्पोमा बसेर मह सङ्कलनमा सघाउनेलाई रु दुई हजार र अन्य सहयोगीलाई रु एक हजार १०० का दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । एकीकृतरूपमा सङ्कलन हुने महलाई बजार दररेटअनुसार बिक्री गर्ने गरिएको छ । प्रशोधन गरी बिक्रीका लागि बजारमा ल्याइएको भिर महलाई प्रतिलिटर रु दुई हजारसम्म मूल्य पर्छ ।

वडाभित्र रहेका बस्तीलाई समेटर समूह विभाजन गरी मह भएका भिरहरु बाँड्ने र मह काढ्ने गरिएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । ‘‘आफैँमा जोखिमपूर्ण काम हो मह सिकार गर्ने, यो पेशाको निरन्तरता मात्रै गरिएको छैन, स्थानीयवासीको आयआर्जन र शून्य दरबन्दी भएको मावि तहका शिक्षकको तलब जुटाउनसमेत मह सिकार सहयोगी बनेको छ”, वडाध्यक्ष छन्त्यालको भनाइ छ । दुर्गम बस्तीका गरिब विपन्न वर्गका बालबालिका अध्ययनरत यस विद्यालयमा प्रस्तावित मावि तह शून्य दरबन्दीमा सञ्चालनमा छ । 

समुदायस्तरबाट चन्दा सङ्कलनलगायत माध्यमबाट वार्षिक लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्थामा मह सिकारबाट हुने गरेको सहयोगले विद्यालयलाई राहत मिल्ने गरेको विद्यालयका प्रअ खिम छन्त्यालको भनाइ छ । मह राम्रो उत्पादन भएको वर्ष रु तीन लाखभन्दा बढी विद्यालयलाई सहयोग जुट्ने गरेको छ । “सधैँ एकैनासको मह सङ्कलन हुँदैन, कुनै याममा मह काढ्नेहरुको पारिश्रमिक जुटाउन पनि धौधौ पर्छ, कुनै सिजनमा राम्रो भयो भने पारिश्रमिक कटाएर विद्यालयलाई सहयोग प्राप्त हुन्छ”, प्रअ छन्त्यालको भनाइ छ । यस विद्यालयमा निजी स्रोतका शिक्षकको तलबभत्तामा समुदायले वार्षिक करिब रु नौ लाख बढी जुटाउनुपर्ने बाध्यता रहेको छ । विद्यालयमा १२० बालबालिका अध्ययनरत छन् ।

यसरी हुन्छ महको सिकार

वर्षको दुईपटक जेठ र असोज महिना मह काढ्ने उपयुक्त समय हो । मह काढ्नका लागि चोयाको डोरीको भ¥याङ ९पराङ०, सुरक्षाको लागि चोयाकै डोरी, मह सङ्कलन गर्ने डाली, कोप्न निगालाको टुप्पोमा फलाम बाँधिएको डग र मह बोक्नका लागि गाग्रीलगायतका सामानको बन्दोबस्त मिलाउने गरिन्छ । शुरुका दिनमा जङ्गल र भिरका देउतालाई खुशी बनाउन र कुनै अप्रिय घटना नहोस् भन्ने कामनासहित पूजा गरी धजा बाँध्ने चलन रहेको लामो समयदेखि मह सिकारमा संलग्न रहँदै आउनुभएका कुइनेमङ्गलेका ६० वर्षीय गोरे शेरपुञ्जाले बताउनुभयो ।

भिरमा मह भएको थाहा भएपछि पहाडको टुप्पोमा रहेका रुखहरुमा पराङलाई बाँध्ने र भिरतर्फ खसाल्ने गरिन्छ । सकभर भिरको शिर र पुछार दुवैतर्फ हेरालु बस्ने गर्छन् । सम्भव नभएको ठाउँमा एकातर्फ मात्रै बस्ने गरिन्छ । पराङ हुँदै भिरतर्फ भिरौटै झरेपछि धुवाँसहितको आगोको मुस्लो मौरीका चाका नजिक पु¥याएर धुँवा लगाएर मौरीलाई भगाउने र लठ्याउने गरिन्छ । लठ्ठिएको मौरीले कम टोक्ने गर्छ । भिरमा मह नजिक पुगेपछि भिरौटेले मह काढ्ने गर्छन् । वारिपारि बस्ने हेरालुको कानमा भिरको शिर र फेदीमा बसेकाहरुले डोरीको सहायताले महलाई सुरक्षित ठाउँमा सङ्कलन गर्छन् । यसरी मह सिकार गर्दा मौरीले टोक्ने समस्यासँगै आगोको मुस्लोले भिरमा आगलागी भएर दुर्घटना हुने, पहाडको भूगोल कमजोर भएमा ढिस्को खसेर चोटपटक लाग्न सक्ने र सुरक्षा सावधानी आधुनिक नभएर परम्परागत मात्रै हुने भएकाले मह काढ्दै गरेको समयमा पराङबाट खस्ने जोखिम पनि रहन्छ । रासस