• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नवौँ राष्ट्रिय खेलकुदः टेनिसमा आर्मी चार स्वर्णसहित टिम च्याम्पियन



कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ ।

यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जित्यो । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।

यसैगरी आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते । पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जिते । नेपालको पहिलो वरियताका खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाउनुप¥यो ।

यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य पदक जिते ।

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते । पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते ।

महिला युगल विधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जितेको छ । सेनाका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य पदक जित्यो ।

टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जित्यो । सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जित्योे ।

टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा च्याम्पियन टोली तथा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।