४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान
अ+ अ-

ढोरपाटन (बागलुङ), १२ असार : जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् । यतिबेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्नेलगायत ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चबर्च बोकी बुकी उक्लिरहेका भेटिन्छ । हरेक वर्ष बर्खाको समय बुकी (लेक) र हिउँदको समय बेंसी (औल)मा बस्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै हो । एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन नसकिने हुँदा यहाँका स्थानीय हरेक वर्ष यस्तै गर्छन् ।

हिउँदमा बेंसी क्षेत्र रमाइलो हुने गरेकामा बर्खा लाग्न थालेपछि बुकीमा पशुचौपाया र गोठालाको चहलपहल बढेको छ । अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेंसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोज र कात्तिकमा बेंसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् भने अबको करिब पाँच महिना उनीहरुले लेकमै बस्ने छन् । यतिबेला बेंसीमा घाँस सकिएकोे र लेकमा प्रशस्त पाइने भएकाले गोठाला दुई हजार दुई सय मिटरदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

बर्खाभरी बुकीमा पालेका भेडाबाख्रा दसैँताका सहर बजारसम्म लगेर बिक्री गर्ने यहाँका गोठालाले त्यसबाट राम्रो आम्दानी गर्ने गरेका छन् । निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजला लगायतका क्षेत्र गोठालाहरुको मुख्य बासस्थान हो । रिग र खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि आउने गर्छन् । हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुनेहुँदा बेँसी ओर्लनु यहाँको चलनै हो । अहिले लेक चढ्ने भेडीगोठाला साउन भदौतिर एक÷दुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने गरेका निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्तीमगरले बताउनुभयो । बुकीमा भएका बेला बिरामी परे मात्रै बेंसी झर्ने गरेको उहाँको भनाइ छ । “आठ÷नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानुभयो, मलाई अलि सञ्चो थिएन र अहिले बल्ल ठीक भएर खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो । अब खर्च सिकियो वा  दुःख बिमार लाग्यो बने मात्रै बेंसी झर्ने हो”, घर्तीमगरले भन्नुभयो ।

यहाँका किसान लेकबेंसी गरेर हजारौँको सङ्ख्यामा पशुपालन गर्छन् ।  उनीहरुले आफ्नै बलबुतामा परम्परागत पशुपालन पेसा अँगाल्दै आएका छन् । पछिल्लो समय सडक बनेपछि केही सहज भएको छ तर राज्यले आफूहरुलाई कुनै सहुलियत नदिएको धेरैको गुनासो छ ।

पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढामगरले आफ्नै बलबुतामा सयौँ पशुबस्तु पाले पनि सरकारबाट कुनै सहुलियत नपाएको बताउनुहुन्छ । “पहिले त निकै कष्ट हुन्थ्यो, अहिले सडक बनेपछि केही राहत भएको छ । त्योभन्दा बाहेक सरकारबाट केही पाएका छैनौँ । मध्यपहाडी लोकमार्ग भेडीगोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजान्छन्, बाँकी दसँैतिहारमा सहरबजार लिएर आम्दानी गरिरहेका छौँ । यही हाम्रो आम्दानीको स्रोत हो”, उहाँले भन्नुभयो ।

असार लागेपछि बुकी बीसौँ हजार भेडाबाख्राले भरिएको बुढामगरले बताउनुभयो । गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्ने गरेको उहाँले सुनाउनुभयो । “यो भेडाबाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिँदैन । गोठाला पनि धेरै हुन्छन्, कसको बथानमा कति भेडा छन्, त्यो स्वयं गोठालालाई मात्रै थाहा हुन्छ”, बुढामगरले भन्नुभयो, “पोहोरसाल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी परेकाले असार लागेपछि मात्रै माथि उक्लिन थालेका छौँ, अब असोजमा भेडा बेच्न बजार झर्ने हो ।” राष्ट्रिय समाचार समिति