• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

मनीताले पेरिस ओलम्पिक खेल्ने



काठमाडौँ: जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् ।

आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो । मनीताले महिला ५७ केलिग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

दक्षिण एसियाली खेलकुद (साग) को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन् । मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

मनीताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा काँस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन् । मनीतासँग एसियाली खेलकुदको १८ औँ १९ औँ संस्करण खेलेको अनुभव छ ।

पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छन् ।

काठमाडौँको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट जुडो खेल्न सुरु गरेकी मनीता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन् ।

उनका सुरुआती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुनुहुन्छ । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन् ।

ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुन् । यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डङ्गोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए ।

मनीताले छनोट भएकामा आश्चर्य र खुसी लागेको प्रतिक्रिया दिँदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताइन् । “सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो, पत्याउनै गाह्रो भयो । त्यसपछि सूर्य गुरुको फोन आयो, अनि मात्र विश्वस्त भए । ओलम्पिकजस्तो ठूलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुसी लागेको छ”, मनीताले भनिन् ,“पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्ने छु ।” पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको सङ्ख्या सात पुगेको छ ।