२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ता नेतालाई भोट हाल्नु ? हामी रनभुल्लमा छौँ : बाढीपीडित



अ+ अ-

कैलाली । कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन् । उनीहरु भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहेका छन् । भजनीमा यस वर्ष पटक–पटक गरी आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन् भने सयौँ परिवार विस्थापित भएका थिए ।

भजनीमा विस्थापित भएका केही परिवार अझै घर फर्कन नसकेको अवस्था छ । बाढीले भजनीमा घरखेत डुबानमा पर्नुका साथै कतिपयका घर भत्किएर बस्ने अवस्था नभएपछि उनीहरु अझै सडक किनार र खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् ।

बाढीले सबैभन्दा बढी क्षति पुगाएको वडा नं ८ का नागरिक यो पार्टी, त्यो पार्टीभन्दा पनि बाढीको दीर्घकालीन समाधानको योजना ल्याएर आउने नेता जिताउने बताउन थालेका छन् । भजनी–८ जनकपुर कालिकाटोलका प्रकाश साउद निर्वाचन नजिकिएपछि नेताहरु भोट माग्न आउन थालेकाले दीर्घकालीन समस्या समाधान गर्नेलाई मात्र मतदान गर्ने तयारी भएको बताउनुहुन्छ । “हामीलाई ड्यामसहित नदी नियन्त्रण गर्ने, पीडितका समस्या दीर्घकालीनरूपमा समाधान गर्नेलाई भोट दिन्छौँ”, उहाँ भन्नुहुन्छ, “यसपटक चारपटक बाढी पस्यो, नेताहरू सुखमा थिए, हामी भोकभोकै पीडामा छट्पटायौँ, हाम्राबारेमा सोच्ने नेतृत्व चाहियो ।”

भजनीको सोनाहाफाटाकी कृष्णा चौधरी पनि बाढीको समस्या समाधान गर्ने नेता चाहिएको बताउनुहुन्छ । उहाँ पीडित बस्ती अन्यन्त्र सार्ने, बाढीपीडितलाई कम्तीमा छ महिना खाद्यान्न उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गर्नुहुन्छ । उहाँ काम गर्ने नेतालाई मात्र भोट दिने बताउनुहुन्छ । “हरेक वर्ष बाढीले धनजन क्षति गरिरहेको छ । बाढीले नागरिकको समेत बिचल्ली हुने गरेको छ”, उहाँ भन्नुहुन्छ, “हामीले हरेक निर्वाचनमा नेता चुन्यौँ, चुनेका नेताहरू सुखको जीवन बिताइरहेका छन् । हाम्रा समस्या उस्तै छन् । हामीलाई सुखका दिन ल्याउने नेता चाहियो ।”

कृष्णा एक महिनासम्म भजनीका नागरिकले बाढीका समस्या झेल्दा नेताहरूलाई कुनै फरक नपरेको गुनासो गर्नुहुन्छ । “हामी एक महिनासम्म खुला आकाशमा बस्यौँ, घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए”, उहाँ थप्नुहुन्छ, “गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन । अब कस्ता नेतालाई भोट हाल्नु रू हामी रनभुल्लमा छौँ ।”

भजनीका नागरिक हरेक वर्ष बाढीले पीडित हुन्छन् । यस वर्षजस्तो पीडा कहिल्यै भोगेका थिएनन् । यस वर्ष पटक–पटक बाढीले सतायो । यसरी बाढीले सताए पनि नेता सघाउन नआएको भजनीकै फागुराम चौधरीको गुनासो छ । “अब गफ होइन, काम गर्ने नेता चुन्ने हो”, उहाँ भन्नुहुन्छ, “बाढीबाट जोगाउने योजनाबारे हाम्रा बस्तीमा छलफल हुनुपर्छ । हामीलाई वाचामात्र गर्ने होइन बलियो आधार चाहिन्छ । अनिमात्र भोट दिन्छौँ नभए यसपालि हामी मतदान गर्दैनौँ ।”

बाढीलगत्तै निर्वाचनका गतिविधि सुरु भएपछि पीडित बस्तीका माग बाढी समाधानकै हुने गरेका छन् । उनीहरु अन्य समस्याभन्दा पहिले बाढीबाट मुक्ति दिलाइदिन माग गर्न थालेका हुन् । विभिन्न राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधि गर्न जान थालेपछि बाढीपीडितले बाढीले उजाडेको बस्ती, नोक्सान गरेको खेतबारी देखाउन थालेका छन् ।

उनीहरु नेताका भाषण सुन्नुभन्दा घर र खेतबारी अवलोकन गरिदिन आग्रह गर्न थालेको बताउँछन् । ‘‘नागरिकहरू दिक्क छन्, नेता आए भेटौँला भन्नुभन्दा पनि आफ्ना समस्या हेर्ने मानिस आए हुन्थ्यो भन्ने चाहन्छन्”, स्थानीय उद्धारकर्मी जयप्रसाद ढुङ्गाना भन्नुहुन्छ, “यहाँका नागरिक राहतमा एक कट्टा चामल नभइ समस्या समाधान गरिदिन माग गर्न थालेका छन् ।”रासस