१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

नवौँ राष्ट्रिय खेलकुद: पोखरा पर्यटनका लागि महत्वपूर्ण

नवौँ राष्ट्रिय खेलकुद: पोखरा पर्यटनका लागि महत्वपूर्ण
अ अ+ अ-

गण्डकी । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ ।

विसं २०३८ देखि सुरु भएको नेपाली राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा सम्पन्न गरेको पोखराले आफ्नो घरेलु मैदानमा चार दशकपछि नवौँ संस्करणको राष्ट्रिय खेलकुद सञ्चालन गर्ने मौका पाएको हो ।

औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल सञ्चालन भइरहेका छन् । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुद भइरहँदा खेलप्रेमी त खुसी छन् नै प्रतियोगिताका लागि पोखरा आइपुगेका खेलाडी, अफिसियलसँगै दर्शकको स्वागतको पर्खाइमा रहेका पोखरेली पर्यटन व्यवसायीलाई पनि हर्षित बनाएको छ ।

खेलाडी तथा अफिसियल गरी १० हजारको जमघट रहने प्रतियोगितका सहभागीलाई पोखरामा स्वागत गर्न पाउनु पोखरेलीवासीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ ।

“यो प्रतियोगिताले यहाँको पर्यटनमा दूरगामी प्रभाव राख्छ”, उहाँले भन्नुभयो, “खेलकुद र पर्यटन एकअर्कामा परिपूरक जस्तै हुन्, पोखरा आउने खेलाडी तथा अफिसियलको आतिथ्यताका लागि पोखरेली पर्यटन व्यवसायी आतुर छन् ।”

पोखरा रङ्गशालाको चार सय १७ रोपनीभित्र विभिन्न खेलका पूर्वाधार एवं अन्य संरचना तयार छन् । राष्ट्रिय खेलकुदका लागि सिँगारिएको रङ्गशाला र खेलाडीको चहलपहल हेर्न लायक छ । पोखरा बजारमा ठाउँठाउँमा राखिएका स्वागतद्वारले पोखरा दुलही झैँ सिँगारिएको छ ।

यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरिसकेको पोखरामा यसअघिको दक्षिण एशियाली खेलकुदका लागि विभिन्न देशबाट आएका खेलाडीले यहाँको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सार्क मन्त्रिपरिषद् बैठकका सहभागीले त पोखरालाई भगवान्ले फुर्सदमा बनाएको सहरको उपमासमेत दिएका थिए ।

प्राकृतिकरूपमा सुन्दर पोखराका लागि नवौँ राष्ट्रिय खेलकुद यहाँको प्रचारप्रसारका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । खेल पर्यटनका माध्यमबाट विश्वका विभिन्न राष्ट्रले ठूलो रोजगारी सिर्जना गरेको उदाहरण दिँदै पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले भन्दै पोखरामा हुने राष्ट्रिय खेलले खेल पर्यटनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँका अनुसार युरोपेली फुटबलका माध्यमबाट खेलाडीसँगै त्यससँग सम्बन्धित लाखौँको रोजगारी सिर्जना भएको पाइन्छ । मित्रराष्ट्र चीन र भारतमा पछिल्ला समयमा व्यावसायिकरूपमा खेलको विकास हुँदै गएको छ ।

खेल पर्यटनको विकासका लागि खेलाइने खेल अधिकतम दर्शकलाई आकर्षित गर्ने खालका हुनुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी बताउनुहुन्छ । पोखरामा हुने राष्ट्रिय खेलकुदसँगै आउने खेलाडी तथा अफिसियलका कारण यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

यसअघि दक्षिण एशियाली खेलकुद(साग) कै सन्दर्भमा पोखराको रङ्गशालालाई थप व्यवस्थित गरिएको थियो । त्यस्तै उक्त अवसरमा महिला फुटबल, महिला क्रिकेट, ह्याण्डबल, आर्चरी, ब्याडमिन्टन, भारोत्तोलन र ट्रायाथोलन जस्ता खेल यहीँको मैदानमा सम्पन्न भएका थिए । नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ खेलमध्ये २६ वटा खेल पोखरामा नै हुने खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक गैरआवासीय नेपाली सङ्घ९एनआरएन० गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन, पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास, उसु, आर्चरी र फेन्सिङ खेल पोखरा रङ्गशालमा हुनेछ । पुरुष बास्केटबल पोखरामा नै हुनेछ ।

जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने छ । पौडी फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।

रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिर हुने सबै खेलका लागि मैदान तयार रहेको गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा सात हजार सात सय ९९ खेलाडी सहभागी हुनेछन् । महिला तीन हजार छ सय ८५ र पुरुष चार हजार एक सय १४ सहभागी छन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्यपदक वितरण गरिनेछ ।

पोखरामा होटेललगायतका पूर्वाधार पर्याप्तमात्रामा रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी बताउनुहुन्छ । “पोखरा र आसपासका होटेलमा प्रत्येक दिन ४० हजार अतिथिलाई राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “लेकसाइडमा मात्रै दैनिक ३० हजारसम्म राख्न सकिन्छ ।” यहाँ पाँचतारे, तीनतारे सुविधा सम्पन्न होटल चार सय हाराहारी छन् ।

यहाँको पर्यटकीय इतिहास खोतल्दा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि पोखराको पर्यटन फस्टाउँदै गएको हो । भूकम्प, कोरोनालगायतका प्राकृतिक विपत्ति एवं महामारीले समग्र देशकै पर्यटन प्रभावित हुँदा पोखरा पनि त्यसबाट अछुतो रहेन ।

पोखरामा आउने पर्यटकका लागि माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालले राम्रैसँग आकर्षित गर्ने गरेको छ । सूर्योदयसहित पोखराको दृश्यावलोकनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोट जस्ता गन्तव्यले यहाँको गरिमालाई अझै बढाएको छ ।

महेन्द्र, चमेरे, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । धार्मिक पर्यटनमा उत्तिकै महत्व राख्ने विन्ध्यवासिनी, ताल बाराही, भद्रकाली, नारायणस्थान जस्ता गन्तव्य पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखराकै कमलपोखरीसहित लेखनाथ क्षेत्रका बेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी पनि यहाँका अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । रासस