२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित



अ+ अ-

टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।

बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ । बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ ।

नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवालासँग छलफल गरिएको छ । बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले बढी क्षति वडा नं ५, ६, ७, ८ मा पु¥याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो । टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ ।

बाढीले नागरिक प्रभावित मात्र नभई धानबाली सडेर बोटमै उम्रन थालेको छ । फुल्न थालेको धान पनि सखाप भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो । “पाकेको धानबाली सबै हावा तथा पानीले ढलेर नास भइसकेको छ । फुलिरहेको धान पनि डुबान तथा पटानले सकियो, नदी बस्तीमा पसेपछि धानबाली रहने त कुरै भएन”, उहाँ भन्नुहुन्छ, “प्रभावित नागरिक राहतभन्दा पनि दीर्घकालीन समाधानको माग गर्छन् । त्यहाँ भोकमरी सुरु हुने भएको छ ।”

वडा नं ५ का वडाध्यक्ष बलवीर चौधरी पनि आफ्नो वडामा धानबाली खेतमै उम्रिसकेको बताउनुहुन्छ । “अझै जलमग्न छ । धान खेतमै सडिसक्यो”, उहाँले भन्नुभयो, “घरमा पानी पस्यो, घरका सबै सामान नोक्सान भए, खेतमा रहेको धानबाली पनि सखाप भयो । हामीले कसरी स्थानीयवासीलाई सान्तवना दिनु रु”

बाढी प्रभावितलाई नगद सहायता

कैलालीका यी दुई पालिकामा विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता गरेको छ । पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिनुभयो । “प्रभावित क्षेत्रका नागरिकको खातामा नगद सहायता पठाउने काम भइरहेको छ । उहाँहरूको नाममा रकम गएको छ । रकम झिक्नका लागि हामी विभिन्न ठाउँमा सहायता कक्ष बनाएर बसिरहेका छौँ”, उहाँले भन्नुभयो, “नगद सहायता अहिले ८० प्रतिशत प्रभावितले पाउनुभएको छ । बाँकी २० प्रतिशतले एक महिनाभित्र पाइसक्नु हुनेछ ।”

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नगद सहायता बाढीकै समयमा दिँदा र पछि दिँदाको प्रभावबारे जानकारी पाउन र विपद्मा परेकालाई सहयोग हुने भएकाले गत वर्षको तथ्याङ्कानुसार नगद पाइरहेका बताउनुभयो । “पालिकाले पनि प्रभावितलाई राहत, समस्या भएकालाई उद्धारजस्ता कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाढीले भत्किएका बाटाघाटा मर्मतलगायतका कार्यसमेत भइरहेका छन् ।”

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले यहाँ कर्णाली मुख्य समस्या भएको बताउनुहुन्छ । “कर्णालीकै कारण सबै क्षेत्र डुबानमा परे, कर्णालीमा तटबन्धलगायतका कार्य गरेर यसलाई बस्तीमा पस्नबाट जोगाएमा बाढीको दीर्घकालीन समस्या समाधान हुन्छ”, शाहीले भन्नुभयो, “प्रभावितलाई राहत दिने कुरामा प्राथमिकता हेरेर दिन्छौँ, महिला, बालबालिका, ज्येष्ठ नागरिक वा समस्यामा रहेकालाई पनि प्राथमिकता दिएर पालिकाले हेर्छ । राहत एकद्धार प्रणालीमार्फत जान्छ ।”

टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारूले विभिन्न ठाउँमा डुबान भएकाले तथ्याङ्क लिने काम भइरहेकाले सबैको सल्लाह लिएर जोखिमअनुसार राहत दिने, समस्यामा परेकालाई उद्धार गर्ने गरी सहकार्य गर्न सङ्घसंस्थालाई आग्रह गर्नुभयो । “सहयोगी सङ्घसंस्था हामीलाई आवश्यक सामग्रीमा सहयोग गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “केही परिवारलाई नगद सहायता गएको छ । छुटेका परिवारलाई प्राथमिकता राखेर राहतका कार्यक्रम हुनेछन् ।”

उता भजनी नगरपालिकामा भने बाढीले हजारौँ प्रभावित भएका छन् । सयौँ परिवार एक सातादेखि सडक तथा खुला ठाउँमा बसिरहेका छन् । भजनीमा भने बाढी प्रभावितको अवस्था कष्टकर छ ।