५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती



अ+ अ-

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।

राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसँै अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ ।

सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दसँै तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ ।

चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो । उहाँले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताउनुभयो । “वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो”, जैशीले गुनासो गर्नुभयो ।

सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताउनुभयो । वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उहाँको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताउनुभयो । विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो । हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताउनुभयो ।

सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो ।

चार वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताउनुभयो । अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ । रासस