४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

लोपोन्मुख अवस्थामा सुदूरको देउडा

लोपोन्मुख अवस्थामा सुदूरको देउडा
तस्बिर:रासस । फाईल फोटो
अ+ अ-

भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल
कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल

बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौँको सङ्ख्यामा हुन्थे ।

पाटादेवलको चौरदेखि खापरमाडौँसम्मै दर्जनौँ ठाउँमा यसरी नै देउडा चल्थ्यो । बझाङ्गी देउडियाले सुरूआत गरेपछि बाजुरेली देउडियाले यसरी डेउडाकै माध्यमबाट फर्काउथे ।

पिलाली तिरखुलो हाली, पेल्दा पेल्दै भया
हौसिया दाजुका खेल, खेल्दाखेल्दै भया

दुई पक्षबीच सुरुमा भेट हँदा स्वागतका यस्तै हरफपछि निरन्तर रातभर देउडामै सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, विहेबारीका कुराकानीसमेत देउडामै हुन्थे । खप्तडछान्ना गाउँपालिका–५ का देउडा गायक डबल पाध्याय भन्नुहुन्छ, “सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत् साटिन्थ्यो ।”

वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडिया दोस्रो वर्षको पर्खाइमा हुने गरेको उहाँ सम्झनुहुन्छ । “अघिल्लो पटक जवाफ दिन नपाएका दोस्रो वर्षको पर्खाइमा हुन्थे,” उहाँले भन्नुभयो, “हाम्रा त्यो बेलाका देउडिया साथीहरूसँग अहिले पनि सौहार्दपूर्ण तरिकाले कुराकानी हुन्छ तर, अहिलेको पिँढी भने त्यसप्रति चासो नै देखाउँदैनन् ।”

युवावस्थामा रात दिनसमेत देउडा खेल्ने गरेको पाध्याय सम्झिनुहुन्छ । “हामे ९हामी० तन्नेरी हुने बेला त राम हुने ठाउँ ९मेला० मा रातदिन देउडा खेल्थ्यौँ । खुट्टा दुखेर सुन्निसकेका हुन्थे तर, हाम्रो देउडा रोकिएको हुँदैनथ्यो ।” उहाँ भन्नुहुन्छ । रातभरि देउडा खेलेपछि बिहान छुट्टिने बेलामा आफूले हालेको देउडा सम्झिनुहुन्छ पाध्याय ।

पिमीली पातको दुनु दही खाया चोलाकी
छुट्न्या भइग्याउ मैना चणी फेरि भेट होला की रु
त्यसपछि बाजुरामा देउडिया महिलाले छुट्टिने बेलाको जवाफ दिन्थे ।
दाजुको दाणिम्या बल्द दैझाला दैझाला
बाँच्यापछि डाँडाबाझ फेरि भेट होइझाला

यसरी सुरूआत भएर टुङ्गिने देउडा अहिले सुन्न पाइँदैनन् । लय पुरानै भए पनि देउडाका शब्द नै अनौठा लाग्छन् पाध्यायलाई । “हाम्रा सैन्डाँडा र दशहरामा गाइने देउडा गीत अहिले बुझिदैनन्,” पाध्याय भन्नुहुन्छ, “हाम्रा लोकसंस्कृतिका शब्द वीरलै कम पाइन्छन् । डोट्यालका शब्द पनि यतै छन्, डडेल्धुराकी पनि यतै, नेपाली, हिन्दी, अंग्रेजीसमेत देउडामा मिसिएका छन् । यस्ता शब्द हामी देउडियालाई बुझ्न त कठिन छ, अरूलाई सजिलो हुने त कुरै भएन ।”

उहाँ नयाँ पिँढीलाई सिकाउन खोजे पनि चासो नदेखाएको बताउनुहुन्छ । “मेलामा गएको बेलामा नयाँ पिँढीलाई खेलमा हात समातेर लिन्छु तर, एक घण्टा पनि खेलमा टिक्न सक्दैनन् ।” नयाँ पुस्तामा मोबाइलले पुरानो कला संस्कृतिप्रति ध्यान जान नसकेको उहाँको गुनासो छ । मध्य तथा सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पहिले वनपाखामा गुञ्जने ठाडी भाकाहरू पनि हराउँदै गएका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीत ओझेलमा परेको उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्याय बताउनुहुन्छ । “सहरीकरणले युवाहरू संस्कार भूलेका छन्,” उहाँ भन्नुहुन्छ, “परिवेश फेरियो, पुरानो पुस्ता फेरियो, प्रविधिको विकासले सोच फेरियो । देउडा पनि फेरिँदैछ ।”

नयाँ पुस्तालाई देउडाप्रति चासो नै नभएको उहाँले बताउनुभयो । “पहिलेका देउडाका भाष्यहरू सबै हराइसके । मौलिक देउडा विकाससँग जोडियो । राजनीतिसँग जोडियो । त्यसले गर्दा मातृभाषासमेत फेरिन थाल्यो ।” भाषा, संस्कार, स्रष्टा सबै फेरिएको हुँदा अहिले सुदूरको लोकदेउडा लोप हुँदै गएको उहाँ बताउनुहुन्छ ।

सुदूरको संस्कृतिलाई जोगाइ राख्न अब लेख्न, पढ्न सक्ने युवा शक्ति अघि आउनुपर्ने उहाँले बताउनुभयो । पश्चिमेली संस्कृतिको विकाससँगै मौलिक लोक गीतहरू ओरालो लागेको उहाँले बताउनुभयो । “पहिलेको पुस्ता स्वतः स्फूर्तरूपमा चासो राखेर देउडा खेल्थे । उनलाई कुनै पुरस्कारको, कुनै निर्णायकको मतलब हुँदैनथ्यो । अहिले भने जति पुरस्कार राखे पनि गहिरो चासो कोही राख्दैनन् ।” पाध्याय भन्नुहुन्छ ।

सुदूरपश्चिमका युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएको सह–प्रा डा बद्री शर्मा बिनाडी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “देउडा मासिनु र लोप हुनु पश्चिमा संस्कृतिको प्रभाव हो । अहिलेको पुस्ता मोबाइल केन्द्रित भयो । नृत्य पनि अरू गीतमै हुन थाल्यो ।” उहाँले परम्परागत गीतहरु हस्तान्तरण गर्न नसक्नु अघिल्लो पुस्ताको पनि कमजोरी भएको बताउनुभयो । संस्कृतिलाई जोगाउन स्थानीय तहले पनि ध्यान दिनुपर्ने उहाँको धारणा छ । “आफ्नो संस्कृतिलाई स्थानीय पाठ्यक्रममा राख्नुपर्ने, तिनीहरूको महत्व, विशेषता, ऐतिहासिकता, देवी देवताहरूको उत्पतिबारे लेखेर अनिवार्य पाठ्यक्रममा राख्ने हो भने संस्कृति जोगाउन सकिन्छ ।” डा बिनाडी बताउनुहुन्छ ।

जयपृथ्वीबहादुर सिंहजस्ता वीर पुरूषकै बारेमा बनेका गाथाहरू संरक्षण गर्नसके पनि संस्कृति जोगिने उहाँ बताउनुहुन्छ । “कुनै पुराना कविताहरू व्यक्तिले रचेकै भए पनि यिनको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको नै हो । त्यसले ध्यान दिँदैन भनेपछि शिक्षित भनिएकालाई पनि आफ्नो संस्कृतिको बारेमा थाहा हुने छैन ।” उहाँ भन्नुहुन्छ ।

कतिपय ठाउँमा स्थानीय पाठ्यक्रम भनेर पुस्तक प्रकाशन गरिएको भए पनि लोक साहित्यविहीन भएको उहाँले बताउनुभयो । “अहिले स्थानीय निकायनै अधिकार सम्पन्न भएका छन् । तिनीहरूले संस्कृति झल्काउने देउडा, फाग, मांगलहरू पाठ्यक्रममा समेटेर अनिवार्य गर्ने हो भने संस्कृति जोगाउन कठिन छैन ।” उहाँले भन्नुभयो ।

अहिले देउडामा अत्यधिक भाषिक क्षयीकरण भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “अहिले जबर्जस्त बचाएका देउडाका भाषामा पटक्कै मिठास छैन । भाषिक क्षयीकरण भइसक्यो । परम्परागत भाषाका शब्दहरू नभएर विभिन्न भाषाका शब्द मिश्रित गर्दा रहेछन् । त्यो भनेको पहिचान गुमेको देउडा मात्रै हो ।”

संस्कृति जोगाउनका लागि विद्यार्थीको पाठ्यक्रम नै स्थानीय भाषामा हुनुपर्ने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संस्कृति जोगाउनका लागि भाषा जोगाउनुपर्छ । भाषा जोगिए, संस्कार आफैँ जोगिन्छ ।” उहाँले अहिले जयपृथ्वी नगरपालिकामा ६–८ कक्षा पढाइ हुने गरी पाठ्यक्रम निर्माण भइरहेको बताउनुभयो । “हाम्रो पालिकामा पहिचान जोगाउनका लागि विज्ञको सहयोगमा पाठ्यक्रम निर्माण गर्दैछौँ । त्यो पाठ्यक्रम पालिकाका सबै विद्यालयमा अनिवार्य लागू हुनेछ ।” उहाँले भन्नुभयो । रासस